बुटवल । नेपालको ताजमहलको उपमाले चिनिने पाल्पा तानसेनको रानीमहलमा भ्यालेन्टाइन डे को अवसरमा रमाइला कार्यक्रमहरु भए । मंगलबार निकै तामझामका साथ गरिएको कार्यक्रममा त्यहाँ उपस्थित सरकारी र निजी क्षेत्रका प्रतिनिधिहरु दिनभर कार्यक्रममा रमाए, खुशी साटे । तर ऐतिहासिक र धार्मिक महत्व बोकेको रानीमहल पहिरो र कालिगण्डकी नदीको बेग बहावका कारण बर्षेनी उच्च जोखिममा परेकोबारे कसैको ध्यान र चासो भने कसैको गएन ।
पाल्पाको तानसेन नगरपालिका–१३ र पाल्पाकै बगनासकाली गाउँपालिकामा पर्ने रानीमहल कालीगण्डकी किनारमा अवस्थित ऐतिहासिक दरबार हो । वि.सं. १९५० माई शिलान्यास भई १९५४ सालमा जनरल खड्ग शमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा कालीगण्डकी नदीको उत्तरतर्फ हानिने मोडमा आकर्षक चार तले दरवार बनाउन लगाएका थिए ।
सोही कारण रानीमहललाई प्रेमको प्रतिक मानिन्छ । तर यो महत्वपूर्ण सम्पदा सम्भावित प्राकृतिक विपत्तिको उच्च जोखिममा परेको छ । रानीमहलको केही माथिबाट कालिगण्डकी कोरिडोर सडक निर्माणाधीन अवस्थामा छ । सोही सडक निर्माणका क्रममा जथाभावी डोजर प्रयोगले वर्षायाममा दर्जनबढी ठाउँमा पहिरो झर्ने गर्छ । पहिरोले रानीमहल दरबार आसपासका भौतिक संरचनामा क्षति पुराइरहेको स्थानीयहरु बताउछन् । यता तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाले श्रेष्ठ पनि रानीमहल उच्च जोखिममा रहेको स्वीकार्दै, पहिरो र नदीको बेगले रानीमहल एकदमै जोखिममा छ’–श्रेष्ठले भने–‘नगरपालिकाको वजेटले पुग्दैन, यसको सुरक्षा र दीगो संरक्षणमा केन्द्र र प्रदेश सरकारको चासो र लगानी हुन जरुरी छ ।
रानीमहल दरबार तानसेन नगरपालिकामा र आँगन लगायत खाली क्षेत्र बगनासकाली गाउँपालिकामा रहेको हुँदा दुई पालिकाबीच रानीमहलको एकीकृत विकासमा बेला बेला समस्या समेत आउने गरेको छ । पार्किङ शुल्क र विभिन्न व्यवसाय सञ्चालन गर्न दिएर बगनासकालीले आम्दानी गर्ने गरेको छ । रानीमहललाई देशकै महत्वपूर्ण पर्यटकीय बनाउन सकिने आधारसहित ७ करोड रुपैयाँ बराबरको डीपीआर संघीय सरकारमा बुझाएको नगर प्रमुख श्रेष्ठको भनी छ। रानीमहल व्यवस्थापनको लागि दिइएको १० वर्षको स्वीकृति सकिन लागेको बताईएको छ ।