लुम्बिनी प्रदेश सरकार स्थापना दिवस आज

बुटवल । मुलुक संघीय संरचनामा गएपछि लुम्बिनी प्रदेश सरकार स्थापना भएको दिन आज हो । सोअवसरमा प्रदेश सरकारले स्थापना दिवस मनाउने भएको छ। बुधबार दिउँसो राप्ती उपत्यका देउखुरी दाङमा औपचारिक समारोहको आयोजना गरेर दिवस मनाउने तयारी छ ।

२०७४ साल फागुन ३ गते लुम्बिनीमा पहिलो पटक सरकार गठन भएको थियो । यो पाँच वर्षको अवधिमा प्रदेशमा तीन वटा सरकार बनेका छन्। मुख्यमन्त्री लीला गिरीले प्रदेशमा १० मन्त्रालय बनाएका छन्। २०७८ साउन २७ गते तत्कालीन एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकार विस्थापन गरी कुलप्रसाद केसी मुख्यमन्त्रीमा नियुक्त भएसँगै लुम्बिनीमा मन्त्रालयको संख्या बढाइएको थियो । २०७४ को निर्वाचनपछि मुख्यमन्त्रीले अर्थ मन्त्रालय आफैँसँग राखेर पाँचवटा मन्त्रीसहितको मन्त्रिपरिषद् बनाए ।

पछि राजनीतिक उत्तारचढावसँगै नौ मन्त्रालय र एक राज्यमन्त्रीसहित १० सदस्यीय मन्त्रिमण्डल बनेको थियो । नेकपा माओवादीका केसी मुख्यमन्त्री भएपछि भागबन्डा पुर्‍‍याउन नौ वटा बाट मन्त्रालयको संख्या बढाएर १३ र चार राज्यमन्त्री गरेर १७ सदस्यीय जम्बो मन्त्रिमण्डल बनेको थियो।

मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकार स्थापना दिवसलाई भव्य बनाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्री चेतनारायण आचार्यले जानकारी दिए। प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार