थारु वस्तीमा माघी रमझम

बुटवल । माघ १ ‘माघी’ अर्थात मकर संक्रान्ति । मकर संक्रान्तिलाई देशभर भव्यताका साथ मनाउने गरिन्छ । थारु समुदायमा भने माघिसँगै नयाँ वर्ष पनि शुरु हुने गर्दछ । १ माघदेखि थारु संवत २६४६ शुरु हुँदैछ । जसका लागि थारु समुदाय तयारीमा जुडेको छ । माघी र नयाँवर्षलाई धुमधामका साथ मनाउने थारु समुदाय मघौटा, धमार झुम्रा नाचमा रमाउने गर्छ ।

काम विशेषले घर बाहिर रहेकाहरू पनि माघी र नयाँ वर्ष मनाउन फर्कन थालेका छन् । नयाँ वर्षलाई भव्य रुपमा स्वागत गर्न गाउँ वस्ती आसपासका नदीमा सरसफाई गर्ने गरिन्छ, थारु समुदायले थारु संवत २६४५ को भव्य बिदाई गर्ने र २६४६ को स्वागतका लागि गाउँटोललाई सजाउन थालेका छन्,

नयाँ वर्षकै दिन थारु समुदायले भल्मन्सा, गुरुवाको चयन पनि गर्ने चलन छ । जसका लागि टोलटोलमा नयाँ गुरुवाको चियो चर्चा चल्न थालेको बुटवलका हेमराज थारुले बताए । ‘गाउँमा जम्मा भएका युवा आपसमा रमाइलो गर्ने गर्दछन्,’ उनले भने, ‘यो समुदायको मौलिक संस्कृति र भेषभूषाको आफ्नै विशेषता छ । जसमा हामीहरू रमाउने गर्दछौं ।’

पर्वको तयारीका लागि खाद्यान्नहरूको जोहो गर्ने, दुनाटपरी गाँस्ने, जङ्गल गई दाउरा सङ्कलन गर्ने, तोरीको खाने तेल पेल्ने, घर लितपोत तथा आँगन सरसफाइ लगायतका कामहरू लगभग सकिएका छन् । ‘अब रमाइलो गर्ने मात्रै हो,’ चौधरीले भने, ‘तयारी सबै सकिएको छ, नयाँ वर्ष र माघीमा रमाइलो गर्दै खुशीयाली मात्रै बाँड्न बाँकी हो, त्यो दिनको पर्खाइ हो, अबत ।’ माघीमा विशेषगरी बङ्गुरको मासु, माछा, घोंगी, गङ्गेटालगायत खानाका परिकारहरु खाने चलन रहिआएको छ ।’

यो पर्वसँगै नयाँ वर्ष शुभारम्भ हुने भएकाले आफ्ना परिवारका लागि नयाँ नयाँ लत्ताकपडाको पनि उचित जोहो गरेको उनले बताए । रोजगारीका लागि विदेसिएकाहरू पर्व मनाउन घर फर्किसकेका छन् भने कोही फर्कने क्रममा छन् ।

माघीमा पाहुना धेरै जम्मा हुने भएकाले जाँडरक्सी, ढिक्री, रोटीलगायत खानाका परिकार तयार गर्न समुदायका युवतीहरू व्यवस्त हुने गर्छन् । थारू समुदायको मुख्य पर्व भएकाले तामझाँमका साथ मनाउने तयारी भइरहेको गाउँका अगुवा चेतराम चौधरीले बताए । पुसको अन्तिम दिनलाई थारु समुदायले पुरानो वर्षको अन्तिम दिनका रुपमा मनाउने गर्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार