गुल्मीको रेसुङ्गा विमानस्थलमा तारा एयरको डेमो उडान सफल

बुटवल । गुल्मीको रेसुङ्गा विमानस्थलमा आइतबार आज तारा एयरको डेमो उडान सफल भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका १० स्थित सिमिचौरमा निर्माण गरिएको विमानस्थलमा तारा एयरको ९ एन–ए–एलओ कल साइन रहेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ बजे उडेको विमान ११ बजेर ४७ मिनेटमा रेसुङ्गा विमानस्थलमा अवतरण भएको हो । अवतरण सहज रुपमा भएपछि डेमो उडान सफल भएको मानिएको छ ।

पहिलो पटक हवाईयात्रीका रुपमा तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जहाजमा गुल्मी जिल्लाबाट निर्वाचित सांसद चन्द्र भण्डारी, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, प्रदेशसभा सदस्य धनेन्द्र बहादुर कार्की, नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री, रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी लगायत तारा एयर र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारी सवार रहेको बताईएको छ । उक्त वायुयानलाई तारा एअरका वरिष्ठ चालकद्वय क्याप्टेन सन्तोष कुमार साह र क्याप्टेन सन्जीव श्रेष्ठले उडाएका थिए ।

विमानस्थल निर्माणकार्य ढिलै भएपनि सम्पन्न भएको र परिक्षण समेत सफल भएकाले अब छिट्टै नियमित उडानका लागि प्रयास गरिने नेताहरुले विमानस्थलमा आएका स्थानीय जनताहरुलाई बताएका थिए । यसअघि विमानस्थल बनिसक्दा पनि संचालनमा चासो नदेखिएपछि आलोचना समेत हुन पुगेको थियो । गुल्मीमा विमानस्थल संचालनमा आएसंगै दुर्घटना तथा बिरामी हुँदा उडान हुनुपर्ने स्थानीयहरुको माग रहेको बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार