तिलोत्तमा इलेक्ट्रिक ट्राम रेल: डिपिआर प्रस्तुत, पुस ८ गते औपचापरिक शिलान्यास

प्रवन्धक शर्मा भन्छन्,–बर्षमा १ अर्ब २ करोड आम्दानी हुने, आर्थिक क्षेत्रमा कायापलट ल्याउने


बुटवल । तिलोत्तमा चक्रपथ निर्माण गरी इलेक्ट्रिक ट्राम रेल सञ्चालन गर्ने प्रक्रियाको डिपिआर प्रस्तुत गरिएको छ । ट्राम रेल सञ्चालन गर्नका लागि तिलोत्तमा नगरपालिका वडा–१ बनवाटिका स्थित ०७७ सालमा तिलोत्तमा पब्लिक रेल्वे कम्पनीको कार्यालय स्थापना गरेर औपचारिक रुपमा काम थालनी गरिएको थियो । पब्लिक, स्थानिय तह र दातृ निकायको संयुक्त लगानी बाट इलेक्ट्रिक ट्राम रेल सञ्चालन गरी रुपन्देहीको आर्थिक विकास, कृषि उत्पादनको बजारीकरण, धार्मिक स्थल लगायत क्षेत्रमा बाह्य तथा आन्तरिक पर्यटकिय गन्तव्यहरुको प्रर्बधन हुने बताईएको छ।

मुनस्टार इन्जिनियर कन्सल्टेन्सी दाङले तयार पारेको डिपिआरको तिलोत्तमा नगरपालिका नगरप्रमुख, उपप्रमुख तथा कार्यपालिका सदस्यहरुको मंगलवार एकभेला आयोजना गरी डिपिआर प्रस्तुत गरियो । प्रस्तुतीकरणका क्रममा सहभागी स्थानिय एंव नगरकार्यपालिका सदस्यहरुको मुहारमा उत्साह देखिएको थियो । डिपिआर बारे तिलोत्तमा पब्लिक रेल्वे कम्पनीका प्रवन्धक तथा सञ्चालक भोलानाथ शर्माले रेल सञ्चालनका लागि निर्माण कार्य, लागत, विशेषता र फाईदाका बारेमा जानकारी दिएका थिए ।

शर्मा जनकपुर रेल्वे कम्पनीका पूर्वमहाप्रवन्ध हुन् । तिलोत्तमामा ट्राम सञ्चालन गर्ने योजना ल्याउने मुख्य योजनाकार मानिन्छन् । शर्माको योजनामा स्थानिय पूर्व शंकरनगर बनवाटिका तथा अनुसन्धान केन्द्रका अध्यक्ष बावुराम अर्याल, समाजसेवी खिमलाल पाण्डे, हालका तिलोत्तमा रेल्वे कम्पनीका अध्यक्ष हरि प्रसाद तिवारी र पूर्वमेयर वासुदेव घिमिरेले साथ दिएपछि कम्पनीले रेल सञ्चालनका लागि थप टेवा पुगेसंगै गति लिएको प्रवन्धक शर्मा वताउँछन् ।

शर्माले भने, खर्च,‘आम्दानी र आगामी प्रगति प्रतिवेदन प्रस्तुतले लगानी कर्ताहरुमा उत्साह थपिदै गएको र शहरी विकास कोष अन्र्तगत नगर विकास, सडक विभाग लगायतले समर्थन जनाउँदै निजि स्रोतले आँटेको गौरवपूर्ण आयोजनाप्रति साथ रहने वताएका छन् ।’ हामीले तयार पारेको प्रोजेक्ट देख्दा सरकारी निकायमा कर्मचारीहरु पनि उत्साहित भएका छन्, उनले भने । रेलको भौतिक संरचना निर्माणदेखि सञ्चालन गर्नेकार्य सम्पन्न सम्म कुल पुँजी साढे ८ अर्ब, भ्याट सहित १० अर्ब लाग्ने डिपिआर प्रतिवेदनमा उल्लेख छ ।

ट्राम रेलले आर्थिक कायापलट
छिमेकी देश भारत लगायत विशेषगरी युरोपियन देशहरुमा सञ्चालन भएको ट्राम रेल नेपालका लागि नौलो अध्यास र नयाँ आयोजना हो । नेपालका अन्य स्थानमा कहि नभएको दावी गरिएको छ । ट्राम रेल सञ्चालनले आर्थिक, भौतिक, सामाजिक, कृषि, पर्यटन र धार्मिक क्षेत्रहरुको विकास एंव प्रर्बधनका लागि प्रत्यक्ष टेवा पुग्नुका साथै पर्यटकहरुको रोजाईमा पर्ने डिपिआर प्रतिवेदनमा खुलाईएको छ । स्थानिय कृषिजन्य पदार्थको उत्पादन तथा बजारीकरण सहुलियत संगै सहजता हुने भएकाले खेतीयोग्य जमिनहरु बाँझो हुने समस्या अन्त्य हुने विश्वास लिईएको छ ।

बार्षिक आम्दानी १ अरबभन्दा माथि
चक्रपथमा जम्मा १२ वटा ट्राम रेल चल्ने छन् । एउटा रेलमा ३ वटा डिब्बा हुने, दैनिक २५ हजार यात्रुहरुले सवार गर्ने, प्रतिडिब्बामा ७० जना बस्न मिल्ने भएकाले एउटा रेल २ सय १० जना यात्रु क्षमताको हुने जनाईएको छ । आधुनिक एसी सहितको व्यवस्था हुने प्रवन्धक शर्माको भनाई छ ।

पहिलो चरणमा चार किलोमिटर शिलान्यास
तिलोत्तमा नगरपालिका वडा न–२ योगिकुटी देखि रोहिणी खोलाको ड्यामसम्म पहिलो चरणमा १५ किलोमिटर दुरीमा इलेक्ट्रिक ट्राम रेल सञ्चालन गर्नेगरी अघि बढेको तिलोत्तमा पब्लिक रेल्वे कम्पनीले ४ किलोमिटर दुरीको निर्माण कार्यलाई तत्काल शुरु गर्ने भएको छ । जसको शिलान्यास पुस ८ गते गर्ने र औपचारिक रुपमा कामलाई अगाडि बढाईने रेल्वे कम्पनीका अध्यक्ष हरि प्रसाद तिवारी वताउँछन् । उनी भन्छन्, अव हामी ४ किलोमिटरको कामलाई थाल्छौं, त्यो सकिएलगत्तै फेरी दोस्रो चरणको कामलाई सुचारु गर्छौं । निर्माण कार्यलाई छिटो गर्नेगरी अघि वढेको वताउँदै, सवैको सहयोग अपरिहार्य रहेको जनाए ।

रेलबाट के लाभ हुन्छ रु
रोजगार, आर्थिक उन्नती, पर्यटन क्षेत्रमा पर्यटनहरुको आगमन लगायत फाइदा हुने रेलबाट जनताको प्रत्यक्ष लगानीमा बार्षिक १ अर्ब २ करोड आम्दानी सकिने तयारी डिपिआरमा प्रस्ट्याईएको छ । बार्षिक बाह्य तथा आन्तरिक गरी ९० लाख यात्रुहरुले सवार गर्ने, २५ वटा स्टेशन निर्माण हुने र एकसय जनाले रोजगारी पाउने प्रतिवेदनमा छ । ४ किलोमिटरको सिभिल कार्य हुने र लागत १० करोड लाग्ने रेल्वे कम्पनीले जनाएको छ ।

विद्युत् खपतमा ठूलो कम्पनी
नेपालमा पछिल्लो समय विद्युत उत्पादन वढ्दै गएकाले इलेक्ट्रिक ट्राम रेल आमनागरिकका लागि निकै फाइदाजनक हुने तिलोत्तमा पब्लिक रेल्वे कम्पनीले वताएको छ । कम्पनी भन्छ, यो नेपालको नौलो कुरा भएपनि उत्पादित विद्युत्को खपतमा ठूलो कम्पनी मानिन्छ । विद्युत् विना इलेक्ट्रिक रेल सञ्चालन असम्भव भएकाले स्वदेशी विद्युत् खपतमा वृद्धि हुने अपेक्षा छ ।

मेयरको लगानीमा चासो
हालसम्म ५ जना शेयर सदस्यहरु रहेको तिलोत्तमा पब्लिक रेल कम्पनीले आयोजना गरेको डिपिआर प्रतिवेदन सार्वजनिक कार्यक्रममा सहभागी भएका तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाँणको मुहार खुसी देखिन्थ्यो । रेल सञ्चालनले नगरको गरिमा बढाउने भन्दै आर्थिक क्रान्तिको पहिलो जग बन्ने अपेक्षा गर्दै, उक्त कम्पनीमा आफुले पनि शेयर हाल्ने प्रतिवद्धता गरे । मेयर खाँणले भने, डिपिआरको स्वरुप हेर्दा निकै मन उत्सुक भयो, तत्कालै शुरु गर्न पाए हुन्थ्यो जस्तो भयो । सबैक्षेत्रको विकासका लागि उपयोगी हुने आफुले सोचेको भन्दै नगर र देशको लागि गौरवको आयोजना बन्ने र यसलाई पिपि मोडलमा लग्नुपर्ने सुझाए ।

उपमेयर जागेश्वरी चौधरीले सो आयोजनामा नगरपालिका सहमत भएको वताउँदै, सहयोग गर्न तत्पर रहेको र योजनामा समेटिएका केहि स्टेशनहरुका नाम सच्याउन आग्रह गरिन । उनले भनिन्,यसमा नागरिकको पनि सहभागिता गराएमा दीर्घकालिन हुने सुझाव दिदै आयोजनालाई छिटो बनाएर रेल चलाएको हेर्न आफ्नो मन आतुर भएको वताईन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार