लैगिकहिंसा विरुद्ध सचेतना जगाउँदै कानूनका विद्यार्थी

बुटवल। लैगिकहिंसा विरुद्धको १६ दिने अभियान पारेर बुटवलको कालिका मानवज्ञान माविका कानून शंकाय पढिरहेका विद्यार्थीहरुले माध्यमिक तहका विद्यार्थीहरुको लागि कानूनी सचेतना कार्यक्रम सम्पन्न गरेका छन् ।

स्कूले बालबालिकाहरुलाई लैगिकहिंसा र मानव अधिकारको बारेमा जानकारी दिने कार्यक्रम गर्नका लागि कालिका मानवज्ञान माबी बुटवलमा कानून अध्ययन गर्ने कक्षा ११/१२ का विद्यार्थीहरुले आइतबार रुपन्देही र पश्चिम नवलपरासीका ३८ वटा विद्यालयरुमा पुगेका थिए । लैगिकहिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत विभिन्न विद्यालयमा पुगेका विद्यार्थीहरुले आफुले सिकेका र समसामयिक कानूनी कुराहरु विद्यार्थीहरुलाई सिकाएका थिए ।

कक्षा कोठामा पढेको र अन्यत्र सिकेका कुराहरु आफूभन्दा साना विद्यार्थीहरुलाई सिकाउन पाउँदा फरक अनुभूति भएको र लैंगिक मुद्दामा समुदायमा बोल्न सक्ने हिम्मत आएको कार्यक्रममा सहभागी विद्यार्थीहरुले बताएका छन् ।

विद्यार्थीहरुले भने, “कक्षा कोठामा प्राप्त गरेको ज्ञानले कानून र अधिकार बुझ्न मद्दत पुगेको थियो, विभिन्न विद्यालयमा गएर अरुलाई कानुनका सामान्य कुराहरु सिकाउँदा समाजमा कानून र अधिकार प्रतिको बुझाई कति कमजोर रहेछ भन्ने जान्न पाईयो” कानूनी सचेतना कार्यक्रम लिएर जनहित मावी कान्छीबजार पुगेकी समिक्षा भण्डारीले भनिन् ।

शंकरनगर दुर्गादत्त माविका प्रधानाध्यापक चण्डी प्रसाद पाण्डेले विद्यार्थीहरुद्वारा विद्यार्थीहरुलाई सिकाउँदा स्कूले बिद्यार्थीहरुले खुलेर आफ्ना समस्याहरु राख्न र छलफल गर्नसक्ने भएकाले यस्ता कार्यक्रमहरु राज्यस्तरबाट पनि सञ्चालन गर्नुपर्ने बताए ।

कालिका मानवज्ञान माविले हरेक वर्ष मानव अधिकार दिवस र लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत विद्यालय र समुदायमा आधारित कानूनी सचेतना कार्यक्रमहरु गर्दै आएको छ । सोही अन्तर्गत आइतबार कक्षा ११/१२ मा कानून अध्ययन गर्ने विद्यार्थीहरु एकै समयमा ३८ वटा विद्यालयका ५ हजारभन्दा बढी स्कूले विद्यार्थीहरुलाई लैंगिक हिंसा र मानव अधिकार, नेपालको कानून तथा संबिधान, नागरिक भूमिका र कर्तब्य, लागू औषध दुर्व्यसन सम्बन्धमा प्रशिक्षण दिएको वताईएको छ।

कानून पढ्ने विद्यार्थीहरु अन्य विद्यार्थीहरुको तुलनामा मानव अधिकार, कानून र समसामयिक मुद्धामा बढी जानकार हुने भएको र उनीहरुले बालबालिकाकै सिकाई स्तर अनुसार कुरा बुझाउन सक्ने भएकोले विद्यार्थी सचेतना जगाउन र विद्यार्थीहरुमा नेतृत्व तथा प्रस्तुतीकरण क्षमता विकास गर्न यस्तो कार्यक्रम प्रभावकारी हुने भएकोले विद्यालयले विद्यार्थीहरुलाई परिचालन गरेर कानूनी सचेतना कार्यक्रमहरु संचालन गरेको कालिका मानवज्ञान माविका प्रधानाध्यापक दिनेश थापाको भनाई छ । उनि भन्छन” शहरका तारे होटेलमा अधिकारका बारेमा ठुलाठुला बहसहरु हुन्छन, तर विद्यालयका बालबालिकाहरुलाई उनीहरुकै थलोमा गएर अधिकार र कानूनका कुरा सिकाउने कोहि हुदैनन्, कालिकाका कानूनका विद्यार्थीहरुले स्वयंसेवी रुपमा लामो समयदेखि यस्तो काम गर्दै बताउँदै यसले कानून पढ्ने विद्यार्थीहरु र अन्य विद्यालयका विद्यार्थीहरु दुबैलाई प्रभावकारीता हुने दावी गरे । ”

यसै सन्दर्भ शिक्षक युबराज कंडेलले कालिका मानवज्ञान माविले कानूनका विद्यार्थीहरुलाई ७० दिने व्यवहारिक अभ्यास गराउँदै आएको छ । यस अन्तर्गत नमूना संसद, अभ्यास अदालत, स्थानीय सरकारसंग कानूनका विद्यार्थी, प्रहरीसंग विद्यार्थीहरु, सामुदायिक कानूनी सचेतना कार्यक्रम र विद्यार्थीहरुको लागि कानूनी सचेतना जस्ता कार्यक्रम संचालन गर्दै आएको र कानून समूहतर्फ नेपालमै सर्वोत्कृष्ट नतिजा दिदै आएको कालिका मानवज्ञान मावीमा कानून शंकायमा २ सय विद्यार्थीहरु अध्ययन गर्दैआएको जनाईएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार