व्यवसायीलाई प्रोत्साहन गर्न सके मात्रै मुलुक समृद्ध बन्छः खाँण

  कोरोनाखबर संवाददाता

भैरहवाः नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारले उद्योगी–व्यवसायीलाई प्रोत्साहन गर्न सक्नु पर्ने बताएका छन् । खाँणले भने, ‘उद्योगी–व्यवसायीलाई प्रोत्साहन गर्नुपर्छ, हत्तोसाहित गरेर समृद्ध मुलुकको कल्पना गर्न सकिँदैन ।’
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै नेता खाँणले व्यवसायीले धेरै कमाउन थाले भनेर सरकार डरायो भने अर्थतन्त्र बलियो नहुने जनाए । उनले सरकारले व्यवसायीलाई अधिकतम कर तिर्नुपर्ने वातावरण बनाउनुपर्ने र व्यवसायिक क्षेत्रका समस्या समाधानमा लाग्नु पर्ने जनाए ।
उद्योगीले माग नै नगरेको ट्रङ्क लाइनको नाममा नेपाल विद्युत् प्राधिकरणले दुःख दिएको भन्दै खाँणले विद्युत् प्राधिकरण त्यो समस्या समाधान गर्नुपर्ने जनाए । ‘कतिपय मुद्दामा राष्ट्रिय सहमतिको जरुरी हुन्छ, आवश्यक परे कानून संशोधन गरेर अगाडि बढ्नुपपर्छ’, उनले भने, ‘ट्रङ्कलाइनको समस्या पनि यसैगरी समाधान गर्नुपर्छ ।’ मुलुककै निर्यातमुखी पहिलो नमूना प्रोजेक्ट भैरहवा सेज संचालनमा सरकार थप जिम्मेवार हुनुपर्ने उनले बताए ।
अर्को प्रसंगमा खाँणले कांग्रेसले सरकार बनाउन हतार नगर्ने बताए । उनले जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्न म्याण्डेट दिएकाले सरकारमा जान पार्टीले हतार नगर्ने बताए । ‘हामीलाई ५ वर्ष विपक्षमा बस भनेर जनताले पठाएका हुन्, त्यसैले सरकारमा जान हतार गर्दैनौं, विकल्प नभए सोचौला’, उनले भने ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई प्रबद्र्धन गर्न तीनै तहका सरकारबाट सहजीकरण भए छोटो समयमा धेरै काम गर्न सकिने बताए । तर त्यसो हुन नसकेको उनको गुनासो छ ।
पदस्थापन समारोहमा संविधानसभा सदस्य आदित्य नारायण कसौधनर इस्तियाक अहमद खानले सिद्धार्थ उद्योग वाणिज्य संघले विभिन्न क्षेत्रमा योगदान पुर्याएको बताउँदै व्यवसायिक हकहीत अझै खरोरुपमा लाग्न सुझाव दिए । लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य सन्तोष पाण्डेयले कोरोनाको नाममा सरकारले जनतालाई त्रासमा राखेर भ्रष्टाचार गरेको भन्दै रोक्न माग गरे ।
कार्यक्रममा संघको ६२ औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट अध्यक्षमा निर्वाचित भीष्म प्रसाद न्यौपानेलाई मुख्य निर्वाचन अधिकृत शिवप्रसाद गौडेलले सपथग्रहण गराएका थिए भने अध्यक्ष न्यौपानेले पदाधिकारी, कार्यसमिति सदस्य, वस्तुगत तथा कर्पोरेट सदस्यहरुलाई सपथग्रहण गराएका थिए । संघका नवनिर्वाचित अध्यक्ष न्यौपानेले सबैको सहकार्यमा संघलाई अझै उचाइमा पुर्याउने बताए । निवर्तमान कुलप्रसाद न्यौपानेले कोभिड–१९ बाट उद्योग व्यवसाय तथा पर्यटन क्षेत्र प्रभावित भएको भन्दै यसलाई उकास्न व्यवसायी र सरकार लाग्नु पर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार