रेशम चौधरी रिहाई भए पनि ओलीलाई समर्थन गर्न सकिँदैनः यादव

  कोरोनाखबर संवाददाता

बुटवलः जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सांसद रेशम चौधरी रिहाई भए पनि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा नजाने बताएका छन् । उनले भने, ‘ओली सरकार प्रतिगमनकारी हो, चौधरीलाई रिहाई गरे पनि हाम्रो समर्थन ओलीलाई रहँदैन ।’
जसपा निकट प्रेस मंच नेपालले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले ओली सरकार प्रतिगमनकारी भएको आफ्नो पार्टीको आधिकारिक लाइन भएको दोहोर्याएका हुन् । अध्यक्ष यादवले अब प्रतिगमन विरोधी दलहरुको सहकार्यमा सरकार बनाउनुको विकल्प नभएकोसमेत स्पष्ट पारे ।
यादव नेतृत्वको पूर्व समाजवादी पार्टी पक्षले ओलीलाई कुनै पनि हालतमा साथ दिन नहुने बताउँदै आएको छ भने महन्थ ठाकुर नेतृत्वको पूर्व राजपा पक्षले आफ्ना माग पुरा गरे ओलीलाई साथ दिन सकिने बताइरहेको छ । ठाकुर पक्षले ओली सरकारमा सामेल हुन ओली पक्षीय एमाले र सरकारसँग वार्ता गर्दै आएको छ । ठाकुर नेतृत्वले चौधरी रिहाई सरकारमा जाने मुख्य अस्त्र बनाएको छ ।
जसपामा ओली नेतृत्वको सरकालाई हेर्ने विषयमा अहिले अध्यक्ष यादव र अर्का अध्यक्ष महन्थ ठाकुर पक्षबीच विवाद छ । पत्रकार सम्मेलनमा अध्यक्ष यादवले संसदलाई विजनेश नदिएर असफल बनाउन प्रधानमन्त्री ओली क्रियाशिल भएको आरोप पनि लगाए ।
‘ओली जसरी पनि संसद सिध्याउने खेलमा लागेका छन् । अहिले पनि प्रतिगमनको खतरा कायम छ’, उनले भने, ‘ओली नेतृत्वको सरकार नहटाएसम्म प्रतिगमनको खतरा भइनै रहन्छ ।’ ओलीले संविधान मिचेर अध्यादेशबाट देश चलाउने प्रयास गरिरहेको उनले जनाए ।
ओली संघीयतालाई सिध्याउने र प्रदेशलाई अधिकारबिहीन बनाउन उद्धत रहेको आरोप उनले लगाए । ‘प्रधानमन्त्रीका तीन वर्ष संघीयता खारेजीमा केन्द्रित रह्यो । अनाहक मुलुकलाई अस्थिरतामा धकेलिएको छ । अझै के–के गर्छन् ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार