बढ्दै लुम्बिनीमा पर्यटक

मंसिरदेखि चैत्र पहिलो हप्तासम्म २ लाख ३१ हजार ८ सय ६२ पर्यटकले लुम्बिनी भ्रमण गरेका छन्

  कोरोनाखबर संवाददाता

लुम्बिनी: बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गर्ने आन्तरिक पर्यटक बढेका छन् । कोरोनाका कारण अघिल्लो वर्ष चैत्रबाट मंसिरसम्म लुम्बिनी भ्रमणमा रोक थियो । गएको मंसिर ३ गते सरकारले लुम्बिनी खुल्ला गरेसँगै भ्रमण गर्ने आन्तरिक पर्यटक ह्वात्तै बढेको कोषको तथ्यांक छ ।
लुम्बिनी विकास कोषका अनुसार, मंसिरदेखि चैत्र पहिलो हप्तासम्म २ लाख ३१ हजार ८ सय ६२ पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । ‘पर्यटकका लागि लुम्बिनी खुल्ला गरिएपछि आन्तरिक पर्यटक दैन्दिन बढेका छन्, विस्तारै लुम्बिनी क्षेत्र गुल्जार बन्दैछ’, कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राइले भने । भारतीय पर्यटक नगन्य मात्रामा लुम्बिनी आए पनि तेस्रो मुलुकका भने आएका छैनन् ।
‘नेपालमा दुतावास भएका तेस्रो मुलुकका राजदुत तथा अन्य कुटनीतिक नियोगका विदेशी पाहुनाहरु लुम्बिनी आएका छन् तर विदेशी पर्यटकहरु आएका छैनन्’, राईले भने । चैत्र ६ गते शनिबार एकै दिन ७ हजार बढी आन्तरिक पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए । अहिले संख्याको आधारमा पर्यटक आगमन राम्रो भएको र यस्तै तरिकाले पर्यटक आगमन बढ्यो भने पुरानै लयमा फर्किने कोषको विश्वास छ ।
शनिबार आन्तरिक पर्यटक केही मात्रामा बढी आउने गर्छन्, अन्य दिन औषतमा १ हजार बढी पर्यटक लुम्बिनी पुग्ने गरेका छन् । पर्यटकका लागि अहिले लुम्बिनी घुम्न उत्तम मानिन्छ । यसैले गर्दा नेपालका सबैजसो जिल्लाबाट पर्यटकहरु आउने गरेका छन् । लुम्बिनी भ्रमणमा आउने धेरै पर्यटक रुपन्देहीसँगै छिमेकी जिल्ला पाल्पा, कपिलवस्तु, नवलपरासीका बढी छन् ।
पर्यटकहरुका लागि मायादेवी मन्दिर, अशोक स्तम्भ, पवित्र पुष्करणी कुण्ड, विभिन्न स्वदेशी तथा विदेशी बिहार, विश्व शान्ति द्विप, केन्द्रीय नहरमा नौका विहार आकर्षक छन् । ‘अहिले वसन्त ऋतुमा फुलेका विभिन्न रंगिविरंगी फूलहरु, चराको चिरविरले पनि पर्यटकलाई आकर्षित गर्ने गरेको छ’, राईले भने । चराविद्ले बताएअनुसार लुम्बिनीमा ४ सय ५० भन्दा बढी थरीका चराहरु पाइन्छ । कतिपय पर्यटक चरा अवलोकनका लागि पनि आउने गरेका छन् ।
लुम्बिनी आउने पर्यटक बढे पनि होटल व्यवसायीले फाइदा भने लिन सकेका छैनन् । खासगरी आन्तरिक पर्यटक लुम्बिनी आएकै दिन फर्किने भएकाले फाइदा लिन नसकेको लुम्बिनी होटल संघका अध्यक्ष मिथुनमान श्रेष्ठले बताए । ‘आन्तरिक पर्यटक बढ्दा लुम्बिनी क्षेत्रमा चहलपहल बढेको छ तर विदेशी पर्यटक नआउँदासम्म पर्यटक व्यवसायीले फाइदा लिन सक्दैनन्, आन्तरिक पर्यटक सेमडे बढी हुन्छन्’, उनले भने ।
होटल संघले आन्तरिक पर्यटकलाई पनि एक रात लुम्बिनी टिकाउने उद्देश्यसहित नयाँ वर्षदेखि विशेष प्याकेज ल्याउने तयारी गरिएको उनले बताए । उनकाअनुसार लुम्बिनी भ्रमणका लागि सस्तो दरको प्याकेजहरु बैशाख महिनादेखि लागू गरिने छ । यसले आन्तरिक पर्यटक आकर्षित हुने व्यवसायीको अपेक्षा छ । पछिल्लो समय लुम्बिनी, भैरहवा, बुटवल, बेलहिया लगायतका क्षेत्रमा पर्यटनमा सम्भावना बढी देखेर ठूला–ठूला होटल खुल्ने क्रम बढेको छ । तर, कोरोना संक्रमणले पर्यटक क्षेत्र थला पर्दा धेरै व्यवसायी जोखिममा परेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार