भारतीय सेनाध्यक्ष नरवणे काठमाडौं आइपुगे

काठमाडौं । भारतका स्थलसेना प्रमुख मनोजमुकुन्द नरवणे आज (बुधबार) काठमाडौं आइपुगेका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय वायु सेनाको विमानमार्फत् उनी आज काठमाडौं आइपुगेका हुन् ।

नरवाणेको भ्रमण टोली दुई वटा विमानमा काठमाडौं आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतको भनाइ छ । भ्रमणदलमा नरवणेकी श्रीमतीसहित चार सदस्य रहने नेपाली सेनाले जनाएको छ । नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरावणे १८औँ सेनापति हुन् ।

नरवणेमाथि ‘थ्रेट’ विश्लेषण गरेर उनी हिँड्ने रुटमा २ हजार प्रहरी परिचालन समेत गरिएकाे छ । यस्तै नेपाली सेनाले पनि ठूलो संख्यामा सादा पोशाकका सैनिक खटाएको छ । विमानस्थलबाट नरवणेकाे टाेलीलाई साेल्टी हाेटल लैजाने बताइएकाे छ ।

तीन दिने भ्रमणका लागि नेपाल आएका नरवणेले भ्रमण अवधिमा राष्ट्रपति, प्रधानमन्त्री र प्रधानसेनापतिसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनरल नरवणेलाई बिहीबार अपराह्न सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार