दुर्घटनाको दिशामा ‘दुई पाइलट’ले हाँकेको नेकपा

नेताहरु भन्छन्- संकटमा पुगिसक्यो, एकता जोगाउनुपर्छ


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा डेढ महीनाअघि साम्य भएको शक्ति संघर्ष पुनः शुरू भएको छ । विभाजनको संघारमा पुगेर जोगिएको नेकपामा यसपालि फेरि विभाजनकै अवस्था आएको नेताहरुका पछिल्ला अभिव्यक्तिले स्पष्ट हुन्छ ।

यसअघि विवाद मिलेको भनिएको भएपनि गत शनिबार दुई (अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड)को भेटघाट र त्यसपछि भएका भनिएका टेलिफोन संवाद सकरात्मक नभएको चर्चा अहिले भइरहेको छ । नेकपामा प्रधानमन्त्री ओलीले गर्ने हरेक एकतर्फी नियुक्तिपछि विवाद बढ्ने गरेको ट्रेण्ड नै देखिएको छ । अहिलेको विवाद पनि राजदुत नियुक्ति र मन्त्रीपरिषदको पुनर्गठनपछि बढेको देखिएको हो ।

उसो त नेकपाभित्र ओली र दाहाल नजिकिने र टाढिने घटनाक्रम नौला होइनन् । घटनाक्रमले भागवण्डा मिल्दा उनीहरुबीच हार्दिकता बढेको र नमिल्दा सम्बन्ध पानी बाराबारमा समेत पुगेको देखाउँछन् । तर यसपटकको परिदृश्य अलि फरक छ । सधैं समन्वयकारी भूमिका निभाउँदै आएका महासचिव बिष्णु पौडेलले समेत यसको फुटको संकेत गर्दै एकता बचाउन आग्रह गर्नु र अध्यक्ष प्रचण्डको खुमलटार ब्रिफिङले नेकपा दुर्घटनाको दिशातर्फ मोडिएको संकेत गर्छ ।

दुई अध्यक्षको तिक्तता बढेपछि मिडिया र सामाजिक संजालमा नेकपाका नेताहरुको बयानबाजी पनि शुरु भएको छ । नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले सामाजिक संजालमार्फत अहिले पार्टी एकता गम्भीर संकटको मोडमा आएको बताए ।

उनले राजनीतिक स्थायीत्व सुनिश्चित गर्ने, संविधानको प्रभावकारी कार्यान्वयन गर्ने र ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाँक्षा पूरा गर्दै समाजवादतर्फ अघि बढ्ने उद्देश्यका साथ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता सम्पन्न भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको बताउदै अहिलेसम्म आईपुग्दा पनि पार्टी एकताको बाँकी काम पूरा हुन नसकेको मात्र होइन, पार्टीको एकीकृत तथा अविभाज्य अस्तित्वमाथि समेत बारम्बार प्रश्न उठेको बताएका छन् ।

महासचिव पौडेलले नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले पार्टी एकताको औचित्य खण्डित हुन नसक्ने भन्दै आपसी अन्तरविरोधलाई संवादको कार्यसूची बनाउन, सहमतिका साथ समाधान खोज्न र पार्टी एकताको रक्षा एवम् विकासका लागि सकारात्मक योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्यहरुलाई आग्रह गरेका छन् ।

त्यस्तै नेकपाका स्थायी कमिटी सदस्य एवं सांसद भीम रावलले तुरुन्त स्थायी कमिटी बैठक बोलाउन माग गरेका छन् । सामाजिक संजाल मार्फत नेता रावलले विधि, प्रणाली र संस्थागत निर्णय पार्टी सञ्चालन र मतभेद व्यवस्थापनका मूल आधार हुन् भन्दै यी कुराको अवज्ञा गरी कसैले फुट र विखण्डनको बाटो समाते देश र जनताप्रति गद्दारी र नेकपा विरूद्धको अपराध हुने बताएका छन् ।

त्यस्तै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले फुट र फुटजन्य कृयाकलाप राष्ट्र एवं कम्युनिष्ट आन्दोलनको आवश्यकता, आम कार्यकर्ता तथा शुभेच्च्छुकहरुको चाहाना र जनादेशबिरुध्द हुने बताएका छन् । सामाजिक संजालमा टिप्पणी गर्दै प्रवक्ता श्रेष्ठले पार्टी एकता महान क्रान्तिकारी उदेश्यलाई केन्द्रमा राखेर र धेरै ठुलो मेहनत पसिना लगाएर हाँसिल गरिएको हो भन्दै यसको बिफलता र पार्टी फुट कदापि उचित र सही हुन नसक्ने बताएका छन् ।

यसैगरी उपप्रधानमन्त्री ईश्वर पोखरेलले पूर्वसमूहभित्रको आवद्धताका आधारमा समीकरण बनाएर खेल खेल्न खोज्दा पार्टी विभाजन हुन लागेको टिप्पणी गरेका छन् । आज दिउँसो ट्वीटरमार्फत नेकपाका सचिवालय सदस्यसमेत रहेका पोखरेलले एकताका बेला गरिएको सहमति विपरीत पूर्वसमूहको समीकरण बनाएर विभाजनको दुर्भाग्य निम्त्याउन लागेको टिप्पणी गरेका हुन् ।

‘एकताका वेला गरिएको सहमती विपरित पूर्वसमूहभित्रको आवद्धताका आधारमा समिकरण बनाएर खेल खेल्न खोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो’, उनले भनेका छन् । उनले पार्टी विभाजन गर्न खोज्नेहरुलाई बेलैमा खबरदारी गर्न पनि आग्रह गरेका छन् । साथै व्यक्तिगत स्वार्थका कारण एकता विथोल्न खोज्नेहरुको विरोध गर्दै एकतालाई जोगाउन आग्रह गरे । ‘त्यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनौं, खवरदारी गरौं । व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाऔं’, पोखरेलले भने ।

पछिल्लो पटक कर्णाली प्रदेशमा उत्पन्न पार्टी विवादले नेकपाका दुई अध्यक्षबीच तित्तता बढाएको छ । त्यसैकारण ओली र दाहालबीच संवादसमेत रोकिएको थियो । उनीहरुबीच ११ दिनपछि शनिवार भेटवार्ता भए पनि कुनै सहमति भएको थिएन । यही भेटमा प्रधानमन्त्री ओलीले अलगअलग जाने विकल्प अगाडि सारेपछि नेकपाको राजनीति फेरि एकपटक तनावपूर्ण बनेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार