काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच कुरा नमिलेपछि पार्टी गुटको संघारमा पुगेको विश्लेषण हुन थालेको छ ।
शनिबार भएको दुवै अध्यक्षबीचको भेट सकारात्मक नभएको देखिएको छ । अहिले दुवै पक्षका नेताहरु आआफ्नो रणनिति बनाउन लागिरहेका छन् भने दोस्रो पुस्ताका केहि नेताहरु एकता बिग्रिन नदिने प्रयासमा लागेको देखिएको छ ।
यसैरकममा नेकपाका स्थायी कमिटी सदस्य एवं सांसद भीम रावलले तुरुन्त स्थायी कमिटी बैठक बोलाउन माग गरेका छन् ।
सामाजिक संजाल मार्फत नेता रावलले विधि, प्रणाली र संस्थागत निर्णय पार्टी सञ्चालन र मतभेद व्यवस्थापनका मूल आधार हुन् भन्दै यी कुराको अवज्ञा गरी कसैले फुट र विखण्डनको बाटो समाते देश र जनताप्रति गद्दारी र नेकपा विरूद्धको अपराध हुने बताएका छन् ।
उनले भनेका छन् – ‘विधि,प्रणाली र संस्थागत निर्णय पार्टी सञ्चालन र मतभेद व्यवस्थापनका मूल आधार हुन्।स्थायी कमिटीको बैठक तुरून्त बोलाइयोस् । यी कुराको अवज्ञा गरी कसैले फुट र विखण्डनको बाटो समाते देश र जनताप्रति गद्दारी र नेकपा विरूद्धको अपराध हुनेछ । समझदारी,एकता र देशहित मनमा राखी समस्या समाधान गरौं ।’