सरकारले डा. गोविन्द केसीलाई भन्यो- विषम परिस्थितिलाई मनन गर्दै अनसन अन्त्य गर्नुस्

काठमाडौं । सरकारले डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न आग्रह गरेको छ । शुक्रबार राति अबेर भएको वार्ता असफल भएपछि सरकारी वार्ता टोलिले शनिबार एक विज्ञप्ति जारी गर्दै डा. केसीलाई अनसन तोड्न आग्रह गरेको हो । साथै सरकारले डा. केसीले उठाएका मागको बारेमा अहिलेको अवस्थाको बारेमा समेत स्पष्ट गरेको छ ।

विज्ञप्तिमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एबीबीएस कार्यक्रम सञ्चालन गर्न चिकित्सा शिक्षा आयोग समक्ष स्वयंम मुल्यांकन प्रतिवेदन पेश भइसकेको, प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्न बर्दिबास, बुटवल र सुर्खेतमा जग्गा प्राप्ति र गुरुयोजना स्वीकृत भइसकेको छ तथा वातावरणीय प्रभाव मूल्यांकन स्वीकृतिको अन्तिम चरणमा रहेको जानकारी गराइएको छ ।

त्यस्तै सरकारी मेडिकल कलेज तथा प्रतिष्ठानमा चिकित्सा शिक्षाका विभिन्न तह तथा विषयका शैक्षिक कार्यक्रम सञ्चालन गर्न सालवसाली बजेट विनियोजन गरेर योजनाजद्ध रुपमा काम भइरहेको, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एबीबीएस लगायतका कार्यक्रम सञ्चालन गर्न गुरुयोजना पारित भइसकेको छ भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातकोत्तर तहको शैक्षिक कार्यक्रम सुरु भइसकेको उल्लेख गरिएको छ ।

त्यस्तै गुणस्तरीय चिकित्सा शिक्षाको विस्तार तथा सर्वसुलभ स्वास्थ्य सेवा प्रवाह गर्न सरकार प्रतिवद्ध रहेको भन्दै विज्ञप्तिमा भनिएको छ -‘कोभिड-१९ को महामारीले मुलुक आक्रान्त बनेको विषम परिस्थितिलाई मनन गर्न अनसन अन्त्य गरिदिन हुन प्रा. डा. गोविन्द केसीलाई वार्ता समिति अनुरोध गर्दछ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार