लुम्बिनी प्रदेश : सभामुख घर्ती र कानूनमन्त्री केसीलाई कोरोना पुष्टि

काठमाडौं । लुम्बिनी प्रदेश सभाका सभामुख पूर्ण बहादुर घर्तीलाई कोरोना संक्रमण भएको छ । सभामुखका स्वकीय सचिव ध्रुव विक्रम वलीले सामाजिक सञ्जालमार्फत् सभामुख घर्तीलाई कोरोना संक्रमण भएको पुष्टि गरेका छन् ।

सभामुख घर्तीको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी होम आईसोलेसनमै रहेको उनको सचिवालयले जनाएको छ । सभामुख घर्तीले आफ्नो सम्पर्कमा आएका सबैलाई आइसोलेसनमा बस्न र परीक्षण गरी सुरक्षित हुन आग्रह गरेका छन् ।

यसैगरी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सामान्य रुघाखोकी लागेपछि आज उनको लुम्बिनी प्रादेशिक अस्पतालमा पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि मन्त्री केसी होम आइसोलेशनमा बसेको र स्वास्थ्यावस्था सामान्य रहेको मन्त्रीका स्वकीय सचिव पवन कुँवरले जानकारी दिए । मन्त्रीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि स्वकीय सचिव तथा सुरक्षाकर्मीको आजै पिसिआर परीक्षण गरिँदैछ ।

गत मंगलबार मात्रै प्रदेशको राजधानी र नामाकरणको लागि प्रदेशसभा बैठकमा मुख्यमन्त्री, मन्त्रीहरूसँगै प्रदेशका सांसदहरू सहभागी थिए । मन्त्री र सभामुख संक्रमित भएपछि मुख्यमन्त्रीसहित अन्य पनि संक्रमित हुने सम्भावना देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार