पूर्वराजकुमारीलाई विजया बासबाट बलपूर्वक निकाल्न रक्षामन्त्रीको आदेश

काठमाडौं । पूर्वराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंह बसेको छाउनीस्थित विजया बासबाट बलपूर्वक निष्कासन गर्न रक्षामन्त्री इश्वर पोखरेलले आदेश दिएका छन् ।

रक्षामन्त्री ईश्वर पोखरेलले राजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंहलाई आफू बस्दै आएको उक्त घरबाट बलपूर्वक निकाल्न मातहतका कर्मचारीलाई आदेश दिएको खुल्न आएको छ । प्रेरणालाई विजया बास बाट एक्काइस दिनभित्र निस्कन आदेश दिइएको पत्र गत असोज ५ गते नै बुझाइएको छ ।

२१ दिन भित्र प्रेरणाले उक्त घर खाली नगरे बलपूर्वक निकाल्न मन्त्री पोखरेलले मातहतका अधिकारीहरुलाई निर्देशन दिएको नेपाल ट्रष्ट स्रोतको भनाई छ । चारदिन पछि असोज २६ गते प्रेरणालाई पत्र बुझाएको एक्काइस दिन पूरा हुनेछ । अबको ४ दिनभित्रमा उनले घर खाली नगरे प्रहरी लगाएर रभएपनि उनलाई निकाल्न रक्षामन्त्रीले निर्देशन दिएको स्रोतको भनाई छ ।

तत्कालिन राजा पीता ज्ञानेन्द्रबाट दाइजोमा पाएको उक्त विजया बासमा प्रेरणा श्रीमानका साथ विगत दुई दशकदेखि बस्दै आएकी छन् । नेपाल सरकारले विजयाबास समेतलाई सरकारीकरण गर्ने निर्णय गरेपछि पूर्वराजकुमारी प्रेरणाले आफू नयाँ घर बनाएर सर्ने बताउँदै आएकी छन् ।

कोरोनाका कारण ‘लकडाउन’ शुरु भएपछि उनको घर निर्माणको कार्य रोकिएको छ । प्रेरणाले सरकारलाई घर बन्ने वित्तिकै विजया बास छाड्ने बताउने प्रतिबद्धता जनाउँदै एक वर्ष उक्त घरमा बस्न पाउन नेपाल ट्रष्टमा निवेदन दिएकी थिइन् ।

निवेदनमा प्रेरणाले कोभिड–१९ का कारण निर्माणमा ब्यवधान पैदा भएकोले आगामी एक वर्षसम्म उक्त घरमा बसोबास गर्न दिइनुपर्ने माग गरेो भएपनि रक्षामन्त्री ईश्वर पोखरेलले असहमति जनाइरहेका छन् । सरकारले घर भाडामा बस्नेहरुले भाडा नबुझाएपनि घरवालालाई ननिकाल्न निर्देशन दिएपनि पूर्वराजकुमारीलाई भने रक्षामन्त्रीकै निर्देशनमा हतारहतार निकाल्ने काम भइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेरणालाई बढीमा एक वर्षसम्म विजयाबासमै रहन सक्ने व्यवस्था गरिदिन परामर्श गर्दापनि ईश्वर पोखरेलले अटेर गरेको स्रोतको दावि छ । ‘प्रधानमन्त्रीले एक वर्ष दिन सकिने भए दिउँ भन्दा पनि रक्षामन्त्रीले मान्नु भएन । एक्काइस दिनभित्र घर छोड्न पत्र पठाइएको छ । नमाने बलपूर्वक निकाल्न निर्देशन भएको छ ।’ ट्रष्ट कार्यालय स्रोत भन्छ ।

दशैँको मुखमा पूर्वराजकुमारीलाई घरबाट निकाल्न मन्त्री पोखरेलले निदैृशन दिएपछि मन्त्री पोखरेलको सर्वत्र आलोचना भइरहेको छ । छाउनीस्थित उक्त घरजग्गा राजा त्रिभुवनले अविवाहिता छोरी विजया राज्यलक्ष्मी शाहलाई किनिदिएका थिए । गायक योगेश्वर अमात्यका बाबुसँग खरिद गरिएको उक्त घर राजा वीरेन्द्रको कमाइको सम्पत्ति नभई राजपरिवारको निजी सम्पत्ति थियो ।

विजया राज्यलक्ष्मीको निधन भएपछि तत्कालिन राजा वीरेन्द्रको नाममा उक्त घरजग्गा राखिएको भए पनि सो घरजग्गा वीरेन्द्रको अङ्श नभई अङ्शियारहरूको थियो ।

राजा विरेन्द्रका नाममा देशभर भएका सम्पत्तिहरु नेपाल ट्रस्टको स्वामित्वमा ल्याउने निर्णय सरकारले गरेको भए पनि अङ्श लाग्ने सम्पत्ति नेपाल ट्रस्टको मातहतमा नजाने अवस्था थियो । यो मुद्दा अदालतमा पुगेपछि पहिलो पटक सर्वोच्च अदालतले प्रेरणाकै हक कायम हुने निर्णय दिएको भएपनि सुशीला कार्की सर्वोच्च अदालतको प्रधानन्यायाधीश बनेलगत्तै उनले न्यायालयको पूर्वनिर्णय उल्टाएर उक्त घरजग्गा नेपाल ट्रस्टको स्वामित्वमा जाने निर्णय गरेकीथिइन् ।

कार्कीको आदेशमाथि पूनरावलोकनका निम्ति दिइएको निवेदनमाथि पनि सुनुवाइ नभएपछि प्रेरणा घर छोड्ने निर्णय गरेकी थिइन् । उनले आफ्नो नयाँ घर बन्ने वित्तिकै विजया बास छाड्ने बताउँदा पनि ईश्वर पोखरेलले जवरजस्ती गर्न खोजेको देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार