प्रदेश ५ काे राजधानीले चर्चामा भालुवाङ बजार

दाङ, असाेज १९ ।

भालुवाङ बजार राप्ती गाउँपालिकामा पर्छ । याे बजार नेकपाले प्रदेश ५ को स्थायी राजधानी बनाउने निर्णय गरेपछि एकाएक चर्चाकाे शिखरमा छ । यद्यपि यो कुरा दाङवासीका लागि नाैलाे भने होइन । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले केही महिना अगाडिदेखि नै प्रदेशको स्थायी राजधानी भर्जिनल्याण्डमा वन्ने चर्चा गर्दै भालुवाङ बजारसमेत समेटिने संकेत दिईरहेका थिए ।
मुख्मन्त्री पोखरेलले ‘भर्जिन ल्याण्ड’मा राजधानी बन्ने कुरा सार्वजनिक समाराेहमा बताउदै अाएका थिए । भर्जिन ल्याण्ड भनेर उनले दाङको राप्ती गाउँपालिकामा पर्ने भालुवाङ बजारसहित पूर्वको अर्घाखाँचीको शीतगंगा र उत्तरको प्युठानको केही भूभागलाई समेट्ने संकेत गरेका थिए ।

भालुवाङसँग जोडिएको अर्घाखाँची र प्युठानको भूगोल समथर छैन । त्यसैले तीनैवटा जिल्लालाई छोएपनि प्रदेश ५ को राजधानीको धेरै भाग भालुवाङसहित दाङको राप्ती गाउँपालिका नै समेटिने छ । राप्ती गाउँपालिकाको प्रमुख बजार भालुवाङ नै हो ।

प्रदेश ५ सरकारले शुक्रबार भालुवाङ बजार र त्यस आसपासको राप्ती किनारले समेटेको उपत्यकालाई स्थायी राजधानी बनाउने प्रस्ताव प्रदेश सभामा दर्ता गराई सकेको छ ।
हाल प्रदेश ५ को अस्थायी राजधानी रुपन्देहीको बुटवलमा छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल दाङवासी हुन् । दाङबाटै चुनाव जितेर कृष्णबहादुर महरा सभामुख बनेका थिए । उनीहरुको चुनावी नारा दाङलाई प्रदेश राजधानी बनाउने भन्ने थियो । तर, प्रदेश राजधानी दाङमा ल्याउन नसकेको भन्दै दाङवासीले असन्तुष्टि जनाउँदै विभिन्न तरिकाले दबाव सिर्जना गर्दै आएका पनि थिए ।
दाङ जिल्लाको सानो तर पुरानाे व्यापारिक केन्द्र हो भालुवाङ । राप्ती गाउँपालिकाको प्रशासनिक केन्द्र मसुरिया भए पनि व्यापारिक केन्द्र भने भालुवाङ नै हो । चुरे पहाडको फेदमा र राप्ती नदीको किनारमा पर्ने भालुवाङ अर्घाखाँची र प्यूठान जिल्लासँग समेत जोडिएको छ ।
पूर्व–पश्चिम राजमार्ग हुँदै पूर्वबाट पश्चिमतिर जाँदा अर्घाखाँचीको थोरै भूभाग छिचोलेर दाङ उपत्यकाको भालुवाङ प्रवेश गरिन्छ । राप्ती नदीको पुल पार गरेपछि भालुवाङको अहिलेको मुख्य बजार पुल्चोक पुगिन्छ । जहाँबाट प्युठान हुँदै रोल्पा जाने राजमार्ग छुट्टिन्छ । प्युठान र रोल्पा जाने नाकासमेत हो याे भालुवाङ बजार ।

प्रदेश ५ सरकारले भालुवाङ बजार र त्यस आसपासको राप्ती किनारले समेटेको उपत्यकालाई समेटेर स्थायी राजधानी बनाउने निर्णय गरेपछि त्याे क्षेत्रका वासिन्दा खुसि भएका छन् । अब जग्गाकाे काराेवार बढ्ने चर्चा परिचर्चा पनि शुरू भएकाे छ ।
राप्ती गाउँपालिकाको ब्यापारिक केन्द्र भालुवाङ ३० को दशकदेखि बजार बस्न सुरु गरे पनि लालपुर्जा पाउन भनी सकेको छैन । भालुबाङसंग दाङ, प्युठान, अर्घाखाँची र रोल्पाका स्थानीयको ब्यापारिक केन्द्रका रुपमा बिकास हुदै गएको छ ।
पहिलेको चल्तीको पूर्व पट्टीकाे बजार सुक्दै गयो र पुल्चोकमा तीव्र शहरीकरण भयो । अर्बौंका पूर्वाधारहरू बनेपनि भालुवाङ बजार कसैको स्वामित्वमा छैन । भालुवाङको अहिलेको बाक्लो बजार बसेको स्थान राष्ट्रिय वनको क्षेत्र हो ।
पूर्वपश्चिम राजमार्ग बनेपछि गाडीहरुको चहल–पहल सुरु हुनासाथ मानिसहरुले राष्ट्रिय वन फँडानी गरी त्यहाँ घर बनाएर बस्न थाले । भालुवाङको पुल्चोक क्षेत्रका अधिकांश घरहरु राष्ट्रिय वन क्षेत्रमा बनेका छन् । तर, त्यहाँको जग्गाको लालपूर्जा कसैसँग छैन । भालुवाङ बजारको जग्गालाई सरकारले स्वामित्व नदिए पनि बिजुली, खानेपानी लगायत विकासका पुर्वाधार निर्माण हुनुका साथै अन्य सरकारी सुविधा उपलब्ध गराइरहेको छ ।

राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले लालपूर्जा नभए पनि भालुवाङ बजारमा घर बनाएर बस्ने, व्यापार गर्नेहरु बढीरहेका छन् तर सरकारी जग्गामा घर वने भनेर भत्काउन सकिने अवस्था नरहेकाे वताउदै अाएका छन ।

करिव ३० बिघा भन्दा धेरै जग्गामा फैलिएको भालुवाङ बजारमा एक हजार भन्दा बढी घरहरु बनेकाे अनुमान छ ।जहाँ चार सयभन्दा बढी ब्यबसायीले ब्यापार ब्यबसाय गर्दै आएका छन् । याे ठाउँ भालुवाङवासी वर्षौंदेखि भोगचलन गर्दै आएकाले लालपूर्जा दिनुपर्ने माग गर्दै सिंहदरबार धाउने गरेका छन् । यद्यपि याे जग्गा वारे वन मन्त्रालय सग कुरा मिलेकाे छैन । राजधानीका लागि अावश्यक भाैतिक संरचना भनी भालुवाङमा छैन ।
स्थानीय मिलेर बजार क्षेत्रभन्दा केही माथि केही जग्गा उपलब्ध गराउने सहमति पनि गरेका थिए । तर, राजनीतिक खिचातानीका कारण त्यो प्रयास पुरा हुन सकेको छैन । तरपनि अहिले प्रदेश ५ काे राजधानी वनाउने प्रस्ताव नै अगाडि बढेपछि भालुवाङ बजार चर्चाकाे शिखरमा छ ।

प्रदेश ५ काे नाम लुम्बिनी मा भनी सवै पार्टीको सहमति रहेकाे देखिन्छ ।
खासगरी नेकपाभित्रै राजधानीबारे सहमति जुट्न नसक्दा प्रदेश ५ को नामाकरण र स्थायी राजधानी तोक्नको लागि ढिलाई भएको थियो । याे विषय टुंगो लगाउन समिति समेत वनाईएकाे थियाे । रुपन्देही, कपिलवस्तु वा दाङ कहाँ राजधानी राख्ने भन्नेमा प्रदेश ५ को प्रदेशसभा मतभेद पहिल्यै देखि थियाे । अब साेमवार वस्ने प्रदेशसभा बैठकमा नाम राजधानी वारे प्रकृया अगाडि बढ्नेछ । उता रूपन्देहीको बुटवल र यसअासपास राजधानी वनाउन निर्णय पुनरविचार गर्न माग गर्दै नेपाली काँग्रेस रूपन्देहीले विराेध सुरू गरिसकेकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार