छैटौ सुरक्षित गर्भपतन सेवा दिवस

सुरक्षित गर्भपतन सेवा लिने घटे, घरदैलो र टोलफ्री सेवामा जोड


बुटवल, १३ असोज
कोरोना भाईरस (कोभिड–१९) को संक्रमणको त्रासको कारण सुरक्षित गर्भपतन सेवा लिने सेवाग्राहीको संख्या गतवर्षको तुलनामा २६ प्रतिशतले घटेको छ । केन्द्रमा सेवाग्राही घटेपछि प्रदेश ५ मा रहेका सरोकारवाला सेवाप्रदायकहरु टोलफ्रि र घरदैलो कार्यक्रम शुरु गरेका छन । प्रदेश ५ मा पछिल्लो ३ वर्षको तथ्याक केलाउदा सर्जिकल सेवा लिने सेवाग्राही १० प्रतिशतले घटेको स्वस्थ्य निर्देशनालयका प्रजनन स्वस्थ्य सेवाका फोकलपर्सन कौशल भण्डारीले बताए । आर्थिक वर्ष २०७४÷२०७५ मा ८ हजार ३ सय २५ जनाले सर्जिकल तथा १० हजार १ सय ३८ जनाले मेडिकल गर्भपतन गराएका छन । यसैगरि आर्थिक वर्ष २०७५÷२०७६ मा ७ हजार १ सय ८६ जनाले सर्जिकल तथा १० हजार १ सय २७ जनाले मेडिकल गर्भपतन सेवा लिएका छन । पछिल्लो आर्थिक वर्षमा कोभिडका कारण मेडिकल गर्भपतन गराउनेको संख्या बढेको छ भने सर्जिकल सेवा लिनेको संख्या घटेको छ । गत आर्थिक वर्ष २०७६÷२०७७ मा सर्जिकल सेवा ६ हजार ८ सय २५ जनाले लिएका थिए भने ११ हजार ९ सय ३५ जनाले मेडिकल सेवा दिएका छन ।
छैटौ सुरक्षित गर्भपतन सेवा दिवसको अवसरमा मंगलबार बुटवलमा प्रदेश ५ स्वस्थ्य निर्देशनालय, नेपाल परिवार नियोजन संघ रुपन्देही शाखा, आईपास नेपाल, मेरि स्टोप्स ईन्टरनेश्नल, पिएसआईको सहकार्यमा सरोकारवालाका बिचमा गरिएको अन्तरक्रिया कार्यक्रममा फोकलपर्सन भण्डारीले किशोरीहरुलाई सहज र पुर्ण गोप्यमैत्री प्रजनन तथा सुरक्षित गर्भपतन सेवाको आवश्यकता रहेको बताए । नेपालमा प्रति घण्टा २१ जना, प्रतिदिन ५ सय २० जना, प्रति महिना १५ हजार ५ सय १२ तथा प्रतिवर्ष १ लाख ८६ हजार १ सय ४४ जनाले असुरक्षित गर्भपतन गराउने एक तथ्याकले देखाएको उनले बताए । विश्व स्वस्थ्य संगठनका अनुसार प्रतिवर्ष करीब २० करोड ८ लाख महिलाहरु गर्भवतीमध्ये करीब ४ करोड ५० लाख तथा २२ प्रतिशतले गर्भपतन गराउने जनाएको छ । जसमा ५१ प्रतिशतलेमात्र सुरक्षित गर्भपतन गराउने गर्दछन । प्रतिवर्ष ५० लाख महिलाहरु असुरक्षित गर्भपतनको जटिलताको कारणले विभिन्न रोगहरुबाट ग्रसित हुने गर्दछन । परिवार नियोजन सेवा लिदालिदै समस्या भएमात्र सुरक्षित गर्भपतन सेवा लिनुपर्ने उनको तर्क छ ।
स्वस्थ्य निर्देशनालयका वरिष्ठ स्वस्थ्य शिक्षा अधिकृत नेत्रलाल अर्यालले गर्भपतनलाई बढावा दिनेभन्दा पनि सुरक्षित गर्भपतनमार्फत महिलाको स्वस्थ्य प्रति सचेत गराउने अभियान भएको बताए ।
नेपाल परिवार नियोजन शाखा कार्यालय शाखा प्रबन्धक मोहन बश्यालले कोभिड–१९ को संक्रमण हुने त्रासका कारण सेवाग्राहीहरु नआएको बताए । आफुहरु टोल फ्रि टेलिफोनमार्फत र घरदैलो कार्यक्रम गर्ने तयारी गरेको उनले बताए । परिवार स्वस्थ्य महाशाखाको नया गाइडलाईनले स्वस्थ्य संस्था सुचिकृत नभएपनि ब्यक्ति सुचिकृत भए हुने भनेकाले यसलाई सहजता ल्याएको उनले बताए ।
नेपाल परिवार नियोजनका सिनियर स्टाफ नर्स बिष्णु गुरुङले परिवार नियोजन र सुरक्षित गर्भपतनबारे सचेतना जगाउने कार्यक्रमहरु आवश्यक रहेको बताईन । ‘नेपालमा सुरक्षित गर्भपतनबारे केवल ४१ प्रतिशतलाई जानकारी भएको तथा परिवार नियोजन सेवा ४२ प्रतिशत महिलाहरुले लिदै आएको तथ्याक छ ।’– उनले भनिन । नेपालमा कुल १३ लाखले अहिलेसम्म यो सेवा लिएको उनले बताईन । कोभिड–१९ का कारण सुरक्षित गर्भपतन लिने सेवाग्राही घट्नुले महिलाहरुमा स्वस्थ्य समस्या बढ्ने उनको तर्क छ । होम भिजिटमै गएर परिवार नियोजन र सुरक्षित गर्भपतन सेवा दिने तयारी रहेको उनले बताईन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार