कोरोना भाईरस संक्रमण र पाच नम्बर प्रदेशको आर्थिक भविष्य

  पदम न्यौपाने, पाल्पा

बुटवल विशेष गरी व्यापारिक र व्यवसायिक थलो हो । सन २०१८ को एक अध्ययनका अनुसार बुटवलको जिडिपी १ विलियन डलरको रहेको थियो । यो व्यापारिक केन्द्रसंग पहाडका कम्तीमा १८ जिल्लाको अर्थतन्त्रसंग प्रत्यक्ष सम्वन्ध राख्दछ । यसको अर्थ के हो भने ५ नं. प्रदेशको राजधानी बुटवल वा रुपन्देहीको अर्थतन्त्र र अन्य जिल्लाहरुको अर्थतन्त्र विचको नजिकको सम्वन्ध छ । भनिन्छ, रुपन्देहीमा झण्डै २ दर्जन जिल्लाका उद्यमी, व्यावसायी र व्यापारीहरुको बसोवास रहेको छ ।
रुपन्देही ठूला, मझौला र साना उद्योग तथा उद्यमहरुको थलो पनि हो । तर यहाँका अधिकाश व्यावसायी तथा व्यापारीहरु मध्यम वर्गका रहेका छन् । रुपन्देहीको उल्लेखित औपचारिक अर्थतन्त्रका अलावा झण्डै झण्डै यही हाराहारीमा अनौपचारिक अर्थतन्त्रको आयतन पनि रहेको अनुमान गर्न सकिन्छ ।
रुपन्देही र अन्य पहाडी जिल्लाहरुको सम्वन्ध अर्थतन्त्रको तथ्यांकमा मात्र नभइ दैनिकीसंग पनि जोडिएको छ । यसका अतिरिक्त सम्वद्ध जिल्लाको विकास सूचाकंमा समेत यसको प्रत्यक्ष योगदान रहेको छ । यसको गहन अध्ययनको आवश्यकता देखिन्छ ।
प्रदेश सरकार, प्रदेश योजना आयोग, नेरावैंकको प्रदेश कार्यालय वा अन्य स्वतन्त्र निकायवाट यसको अध्ययन हुन सक्यो भने बुटवलको अर्थतन्त्र र छिमेकी जिल्लाको अर्थतन्त्रको अनोन्याश्रित सम्वन्धको गहिराइको सम्वन्धमा यथार्थ जानकारी हुनेछ । यसले लगानी र उत्पादनमा समेत प्रभाव पार्नेछ । आज यहाँ रुपन्देहीमा वसेर व्यापार व्यासाय गरेर बसेका मध्यम वर्गिय व्यापारी तथा उद्यमशिल व्यवसायीवर्गमा कोभिड १९ को प्रभावका वारेमा सानो चर्चा गर्न खोजिएको छ ।
बुटवल उद्योग बाणिज्य संघका अनुसार संघमा आवद्ध सदस्यहरु क्रिव २ हजार ५सय रहेका छन् । यसमा साना ठूला सवैखाले उद्यमी, व्यावसायी र व्यापारी वर्ग रहेका छन् । यो सख्यामा कम्तीमा पनि ६० प्रतिशत मध्यमस्तरिय व्यावसायीको आवद्धता रहेको अनुमान गर्ने हो भने मध्यम वर्गका व्यापारी र व्यवसायीमा निम्न मध्यम वर्गिय व्यवसायी ५० प्रतिशत रहेको आँकलन गर्न सकिन्छ । यसवर्गको सख्या भनेको ६ सयको हाराहारीमा आउछ । यो सख्याको आंकलन नितान्त कम हो । यो वर्ग भनेको फर्मल भन्दा नन्फर्मल इकोनोमी सम्वद्ध रहन्छ । अहिले कोभिडका कारण सवैभन्दा ठूलो मारमा परेको वर्ग पनि यही हो । यो अवस्था पुष मसान्तसम्म रहिराख्यो भने यो वर्गको अधिकाशं हिस्साले ठूलो समस्या सामना गर्ने छ । यती मात्र होइन बुटवलका एक हजार भन्दा बढी व्यवसायीहरुले हालको आफ्नो आर्थिक हैसियतमा कम्तीमा ६० प्रतिशतले कमी पाउने छन् । यसले बुटवलको कुलग्राहस्थ्य उत्पादनको हालको भोल्यूममा गिरावट आउने छ ।
त्यति मात्र होइन रुपन्देही वा बुटवलको इकोनोमीसंग प्रत्यक्ष जोडिएका जिल्लाहरुको जिडिपी र आर्थिक बृद्धि दरमा समेत गिरावट आउने छ । हजारौंंको सख्यामा रहेका युवा उद्यमीहरुले समेत ठूलो समस्या सामाना गर्नुपर्ने छ । यसका लागि नेपाल राष्ट्र बैंकले स्थापना गरेको ३ खर्बको कोषले समेत सम्वोधन गर्न नसक्ने यो निम्न मध्यमवर्गिय उद्यमी व्यवसायीहरुको वारेमा समयमै गहनताका साथ समिक्षा गर्न जरुरी देखिन्छ ।
बुटवलसंग प्रत्यक्ष कारोवारी र अप्रत्यक्ष विकास र लगानी सम्वन्ध रहेका जिल्लाहरु पाल्पा, गुल्मी, अर्घाखाची, दाङ, प्यूठान, कपिलवस्तु, नवलपरासी, सल्यान, रुकुम (पूर्व र पश्चिम), स्याङजा, पर्वत, बाग्लुगं, म्याग्दी, जाजरकोट लगायतका जिल्लामा आर्थिक गतिविधिमा मन्दीको प्रभाव पर्ने छ । यो अवस्था आउन नदिनका लागि बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही व्यापार संघ, रुपन्देही उद्योग संघ, संघठन र सम्वद्ध जिल्लाका उवासंघ र व्यापार संघहरुले अहिले देखि नै अध्ययन र सतर्कता अवलम्वन गर्न जरुरी छ ।
निम्न मध्यम वर्गमा आर्थिक शिथिलता वा मन्दी आउनु भनेको लाखौ परिवारमा आर्थिक मन्दी आउनु हो । अध्ययन अनुसार यही वर्गले बजारमा गतिशिलता ल्याउने काम गर्दछ । किनकी आम्दानीको ठूलो अशं सम्पती खरिद तथा दैनिक उपभोग्य बस्तुहरुमा खर्च गर्ने गर्दछ । नेपाल राष्ट्र बैंकको हालैको कोभिडको प्रभाव सम्वन्धि अध्ययनले समेत साना तथा मझौला उद्योग एवं उद्यमीहरुलाइ परेको उल्लेख गरेको छ । तथापी यही अध्ययन अनुुसार घोषणा गरिएको राहत कार्यक्रमले भने यसै क्षेत्रको निम्न मध्यम वर्गका लागि भने पूर्ण सम्वोधन गर्न सकेको देखिदैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार