समाजको ९० औ नियमित रक्तदान

बुटवल, २७ भदौ
नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही शाखाले भदौ महिनाको अन्तिम शनिबार गरेको रक्तदानसंगै ९० औ महिनाको नियमित रक्तदान सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र बुटवलको प्राविधिक सहयोग तथा एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजको आर्थिक सहयोगमा गरिएको आकस्मिक रक्तदान कार्यक्रमको सिद्धार्थ बाल तथा महिला अस्पतालका मेसु डा राजेन्द्र प्रसाद बश्यालले उद्घाटन गर्दै रुपन्देहीमा स्वयंसेवी रक्तदाताहरुको कारण छुट्टै पहिचान बनाउन सफल भएको बताए । बिरामीहरु रगत पाउनैका लागि सोसफोर्स लगाउने प्रवृति हटाउन जरुरी रहेको उनले सुझाव दिए ।
समाजका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले जिल्लामा पहिलोपल्ट रक्तदान, प्लाज्मा दान जस्ता धेरै अभियान पनि थालेको बताए । रक्तदान गर्दा निरोगी हुनुको प्रमाण प्राप्त हुनुका साथै एउटा विरामीको सहयोग हुने उनले बताए । जिल्लामा करीब ५ सय स्वयंसेवीहरुको संस्थामा आवद्घ रहेका र नियमितजसो रक्तदान भएको बताए । ‘अहिलेसम्म ४७ जनाले प्लाज्मा दान गरेका छन ।’– उनले भने । प्लाज्मा दानसंगै समाजमा कोरोना पोजिटिभ ब्यक्तिलाई हेर्ने दृष्टिकोण परिवर्तन भएको उनले बताए । लक्षण सहितको पोजिटिभ बिरामी आफु निको भएको २० दिनभित्र प्लाज्मा दिन सकिने विज्ञहरु बताउछन ।
शनिबार भएको कार्यक्रममा ८० युनिट रगत संकलन भएको संयोजक आकाश पन्तले बताए । कार्यक्रममा सल्लाहकार लक्ष्मण क्षेत्री, महासचिव सचिव उदयराज भट्टराईले प्रचारभन्दा पनि बिरामीको सेवामा सबै संघसंस्थाहरु मिलेर लाग्नुपर्ने सुझाव दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार