कित्ताकाट फुकुवा दलाल र भूमाफियालाई पोस्ने प्रपञ्च

‘कृषि भूमिको कित्ताकाट र खण्डीकरण तत्काल रोक्न किसान महासंघको माग’


काठमाडौं । सरकारले जमिनको कित्ताकाट खुला गरेकोमा सत्तारुढ नेकपा सम्बद्ध अखिल नेपाल किसान महासंघले आपत्ति जनाएको छ । कित्ताकाट फुकुवाको निर्णयबाट आफूहरुलाई दुःखी र आक्रोशित बनाएको भन्दै महासंघले विज्ञप्तिमार्फत आपत्ति जनाएको हो ।

सरकारको निर्णयले माफिया र दलालहरुलाई पोस्ने र देशलाई खाद्य संकटको दिशातर्फ उन्मुख गराउने महासंघको दाबी छ । ‘कृषि भूमिको कित्ताकाट फुकुवा गराउने निर्णयले नेपालको कृषि भूमिलाई खण्डीकरण गर्ने, गैर कृषि क्षेत्रमा उपयोग हुने अवस्था सिर्जना गर्ने, कृषि भूमिलाई व्यापारको वस्तु बनाउने, गरिब किसानहरुलाई आफ्नो जमिन बलजफ्ती सस्तोमा बेच्न बाध्य बनाई भूमाफिया तथा दलालहरुलाई पोस्ने र नेपाललाई खाद्य संकटको दिशातर्फ उन्मुख गराउने काम भएको छ’ -किसान महासंघका संयोजक हरि पराजुली र सहसंयोजक चित्रबहादुर श्रेष्ठले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ ।

साथै सरकारलाई किसान विरोधी हर्कतहरु नदोहोर्‍याउन महासंघले सचेत गराएको छ । गठन भएलगत्तै वर्तमान सरकारले देशलाई दुई वर्षभित्र खाद्यान्नमा आत्मनिर्भर बनाउने र ५ वर्षभित्र खाद्यान्न निर्यात गर्ने स्तरमा पुर्या‍उने लक्ष्य घोषणा गरेकोमा त्यसको विपरित भूमिको कित्ताकाट फुकुवा गरिएको महासंघको निष्कर्ष छ ।

कित्ताकाट फुकुवा गर्ने निर्णय किसान विरोधी भएको भन्दै महासंघले यस्ता निर्णय तत्काल रोक्न माग गरेको छ । ‘मुलुकको सबैभन्दा ठूलो किसान संगठन हुनुको नाताले हामी कृषि भूमिको कित्ताकाट र खण्डीकरण तत्काल रोक्न र वैज्ञानिक भूउपयोग सम्बन्धी आवश्यक नियमावली तथा निर्देशिकाहरु यथाशीघ्र जारी गरी वैज्ञानिक भूउपयोग ऐनको अबिलम्ब कार्यान्वयन गर्न जोडदार माग गर्दछौँ र नेपाल सरकारलाई यस्ता किसानविरोधी हर्कतहरु नदोहोराउन सजग गराउँदछौँ’ -विज्ञप्तिमा अगाडि भनिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार