रातो मत्स्येन्द्रनाथ रथ यात्राको साइत जुर्‍यो

काठमाडौं । रातो मत्स्येन्द्रनाथको रथ यात्राको शुभसाइत २९ भदौका लागि जुरेको छ । आज पाटन मंगलबाजरस्थित् सोह्रखुट्टे पाटीमा ज्योतिषीहरूबीच भएको छलफलपछि २९ भदौको साइतमा मुर्तिलाई अवतरण गराई बुङ्मती लैजाने निर्णय भएको हो ।

ज्योतिषी कृति किरण जोशीले २९ भदौ बिहान १० बजेर ५ मिनेट देखि १० बजेर २० मिनेट भित्रको शुभसाइतमा रथबाट मत्स्येन्द्रनाथको मुर्तिलाई अवतरण गराई बुङमति लैजाने निर्णय भएको बताए । यसवर्ष नरिवल खसाल्ने र भोटो देखाउने कार्यक्रम आयोजना नगरिकन मुर्तिलाई बुङमती पुर्‍याएको चारदिनमा विशेष पूजाआजा गरी जात्रा पर्व समाप्त गरिने कार्यक्रम रहेको जोशीले बताए ।

वैशाख शुक्लपक्षको शुभसाइतमा निकाल्नुपर्ने रथयात्रा यस वर्ष कोभिड-१९ महामारीका कारण रोकिएको थियो । लामो समय रथ तान्ने विषयमा केही निर्णय हुन नसकेपछि गत बिहीबार स्थानीय केही युवाहरूले प्रशासनको अनुमतिबिना रथ तानेका थिए ।

त्यसलगत्तै स्थानीय युवा र प्रहरीबिच झडप समेत भएको थियो। युवाहरूले रथ राखिएको ठाउँबाट तानेर केही पर पुर्‍याएका थिए । त्यसपछि स्थानीय ज्यापु समाजले शुक्रबार क्षमा पूजा गरी आइतबार रथ तानेर सोह्रखुट्टे पाटी सम्म पुर्‍याएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार