सधै जोखिमपुर्ण ः सिद्वार्थ राजमार्गको यात्रा

बुटवल–पाल्पा सडक ३ महिनामा ३९ पटक अबरुद्व


पाल्पा, १९ भदौ 

सिद्वार्थ राजमार्गको बुटवल–पाल्पा सडकको यात्रा सधै जोखिमपूर्ण छ । न हिउद, न वर्षा जुनसुकै याम यात्रा गर्दा यो सडक खतरायुक्त हुने गरेको छ । यो सडकलाई यात्रु तथा चालकहरुले मृत्यु मार्गको समेत संज्ञा दिएका छन् । यो सडकको सिद्वबाबा, दोभान, झुम्सा, पानीमिल, चौबिसमाईल, केरावारी , चर्चरे, कालिमाटी, डुम्रे, वर्तुङ लगायतका ठाउँमा गएको पहिरो र ठाउँ ठाउँमा सडक उप्किनुका साथै खाल्डाखुल्डी परेका छन ।

कतिपय स्थानमा सडक भासिएको छ भने यता चर्चरे, लामिडाडा, बर्तुङ क्षेत्रमा सडक सुधारको काम चलेको छ । वर्षा याममा जथाभावी डोजरको प्रयोग हुदा कतिपय ठाउमा पहिरोले समस्या पारेको छ । हिउदमा समेत ढुङ्गासहितको सुख्खा पहिरो खस्ने यो मार्गमा धेरैले अकालमा ज्यान गुमाएका छन । कतिपय अवस्थामा यो सडकहुदै यात्रा गर्ने यात्रु र चालकहरु सडक अवरुद्ध हुदा दुख पाउछन । यो सडकमा पटकपटक भएको दुर्घटनावाट दर्जनौ व्यक्तिको ज्यान समेत गएको छ । बर्षामा आउने पहिरोले दर्जनौ पटक सडक अबरुद्व हुन्छ ।


यो वर्ष बर्षायामका पछिल्लो ३ महिनामा सडक ३९ पटक अबरुद्व भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय प्रदेश ५, बुटवलका प्रवक्ता एवं डिएसपी डिल्ली नारायण पाण्डे बताउनुहुन्छ । समयमा सडक मर्मतसम्भार नहुदा यो सडकमा यात्रा जोखिमपुर्ण रहेकोले स्पष्ट योजना वनाएर अगाडि बढ्न सरकारको ध्यान जानुपर्ने उहाको सुझाव छ । यो वर्ष चर्चरे र डुम्रे घुम्तीमा पटक पटक पहिरो जादा ४५ घण्टासम्म यातायात रोकिएको र यातायात खुलाउन लाग्नु परेको प्रभास प्रहरी चौकि पाल्पाका ईन्चार्ज टेक बहादुर नेपालीले जानकारी दिए ।

एकातिर कमजोर चट्टानको भिरपहरो र अर्काेतिर लगातार दैनिक सयौ टिप्पर ओभरलोड गिट्टी वालुवा, चुनढुङ्गा वोकेर ओहरदोहर गर्दा पनि सडकको अवस्था जीर्ण वनेको पाईन्छ । डिभिजन सडक कार्यालयले सामान्य पहिरो गएका ठाउमा पहिरो हटाउन ढिलाईका साथै खाल्डाखुल्डी मर्मतमा ध्यान नदिदा सवारी गुड्न समस्या उत्पन्न भएको देखिन्छ । अत्यन्त जोखिमपुर्ण यो सडकको सिद्वबाबा क्षेत्र सुधार, मर्मत सम्भार, बैकल्पिक सडक निर्माण र सुरुङ मार्गको पटकपटक चर्चासगै केही बजेट विनियोजन भएपनि कामले सार्थकता पाउन सकेको छैन । जसका कारण यो सडकको यात्रा सधै जोखिमपुर्ण वनेको छ ।

तस्वीर ः कोरोना खबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार