प्रदेशमा प्लाज्मा बैंकको थालनी

प्लाज्मालाई ब्लड बैंकमा स्टोर गरेर एक वर्षसम्म प्रयोग गर्न मिल्ने


बुटवल, १६ भदौ
कोरोना भाईरस संक्रमितको उपचार गर्ने उद्येश्यका साथ प्रदेश ५ मा प्लाज्मा बैक अभियान शुरु भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् प्रदेश ५ ले नेपाल रेडक्रस सोसाइटी कपिलवस्तु र रुपन्देही शाखाको सहकार्यमा सोमबारदेखि औपचारिक रुपमा कपिलवस्तु अस्पताल तौलिहवामा अभियानको उद्घाटन गरेको हो । संक्रमण मुक्त अस्पतालका कर्मचारी र स्थानिय समाजसेवीहरुले प्लाज्मा थेरापीको लागि रक्तदान गरेको प्रदेश ५ का नेपाल स्वस्थ्य अनुसंधान परिषदका संयोजक डा. प्रशान्त आचार्यले बताए । ‘यसलाई हामीले अभियानका रुपमा अघि बढाएर कोभिड उपचार सहज बनाउने छौं ।’– उनले भने । संकलन भएको रगत बुटवल कोरोना विशेष अस्पतालको आइसियुमा रहेका बिरामीको उपचारमा प्रयोग हुने उनले बताए । कार्यक्रममा १७ पिन्ट रगत संकलन भएको छ ।

कोरोना पोजिटिभ भै आईसोलेसनमा बसेपछि निको भएर नेगेटिभ भएका अथवा कोरोनामा जित हासिल गरेका स्वस्थ व्यक्तिहरुको शरीरको रगतमा हुने प्लाज्माबाट अहिले कोरोना भै उपचारमा रहनुभएका बिरामीको उपचार गर्न सकिने उपचारमा संलग्न चिकित्सकहरुको दाबी छ । जसलाई प्लाज्मा थेरापि भनिन्छ । यो अभियानबाट प्लाज्मा अभाव नहुने उनले बताए । रगतबाट प्लाज्मा तयार गरी ब्लड बैंकमा स्टोर गरेर एक वर्षसम्म प्रयोग गर्न मिल्ने लुम्बिनी प्रदेसिक अस्पतालका फिजिसियन तथा कोरोना फोकलपर्सन डा.सुदर्शन थापाले बताए । धेरै कोरोनाका बिरामीहरु यो विधिबाट निको भएको उदाहरण रहेको उनले बताए । कोरोना भएर निको भैसकेको अर्थात पिसिआर नेगेटिभ आएको १४ र १५ दिनपछि प्लाज्मा डोनेसन गर्न मिल्ने उनले बताए । कपिलवस्तु अस्पतालका मेसु डा किशोर बन्जाडेले आफुहरु महामारीको सामना गर्दै गर्दा पोजिटिभ भएको बताए । समाजमा कोरोना पोजिटिभहरु प्रतिको दृष्टिकोण परिवर्तन हुनुपर्ने सुझाव दिन्छन । रगत अभाव भएको कारण उचित समयमा प्लाज्मा थेरापी सुरु गर्न गाह्रो भैरहेको अवस्थामा गरिएको काम निक्कै उदाहरणीय भएको उनले बताए । बिरामीमा राम्रो सुधार आउने हुनाले यस्तो अभियानको बारेमा जनचेतना फैलाउने आवश्यक रहेको उनी बताउछन ।
कार्यक्रममा प्लाज्मा थेरापीका संयोजक डा सम्राट पराजुली, नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्री, उपाध्यक्ष भीष्म केसी, महासचिब उदयराज भट्टराईले पवित्र काममा सबैको साथ सहयोग जरुरी रहने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार