छाडा चौपायाले बढायो दुर्घटना र प्रदुषण

समाधानका लागि दीर्घकालिन योजना जरुरी

रुपन्देही । भदौ १३
छाडा चौपायाको समस्याका कारण दैनिक दुर्घटना र प्रदुषण बढ्दै गएको छ । रुपन्देही जिल्लाको बुटवल, भैरहवा, देवदह, सैनामैना, तिलोत्तमामा लगायतका बजारको विभिन्न ठाँउमा छाडा चौपायाका कारण यात्रु सवारी चालक र व्यवसायीहरु निकै समस्यामा परेको पाइन्छ । शहरका मुख्य राजमार्ग, सहायक सडक, गल्ली, हाटवजार स्थल लगायतका ठाउँमा ट्राफिक जामको समस्या तथा मलमुत्रले प्रदुषण समेत वढाएको छ । चौपायाले पसलको सरसामान, किसानका अन्नपात बालीनाली, तरकारी फलफुल खाइदिएर नोक्सान पारी दिने गरेका छन् । भैरहवा र बुटवल आसपासका मुख्य र सहायक सडकमा दर्जनौ सवारी दुर्घटना हुनुकासाथै धेरै छाडा चौपायाको मृत्यु समेत भएको छ । रातको समयमा त झनै सवारी दुर्घटनाको समस्या देखिन्छ । यिनै चौपाया अहिले ट्राफिक प्रहरीको समेत टाउको दुखाई नै वनेको छ । यस क्षेत्रका उपमहानगरपालिका र पालिकाहरुले छाडा चौपायाको व्यवस्थापन गर्न साझा मुद्या बनाएर अघि बढ्नुपर्ने विज्ञहरुको सुझाव छ । सरोकारवाला संघसंस्थाहरु दीर्घकालिन योजना वनाएर अगाडि बढाउनुपर्ने उनिहरुको सुझाव छ । स्थानीयहरुको भनाई अनुसार रुपन्देहीमा करिव ३ देखि ४ सय छाडा चौपाया रहेका छन् ।


छाडा चौपाया ब्यवस्थापनामा तिलोत्तमा नगरपालिकाले केही वर्षअघि शुरुवात गरेको थियो । नगरपालिकाको वडा नम्बर १ र ८ मा ४ विगाहा क्षेत्रफलमा छाडा चौपाया व्यवस्थापनका लागि तिलोत्तमा गौशाला स्थापना गरिएको थियो । उक्त गौशाला नेपाल अन्तराष्ट्रिय कृष्ण भावना अमृत संघ नामक संस्थाले संचालनको जिम्मा लिएर राम्रो शुरुवात गरेपनि हाल यस क्षेत्रको छाडा चौपायाको समस्या पुनः बल्झिएको छ । बुटवल, भैरहवामा विभिन्न व्यक्तिहरुले छोडिदिने छाडा चौपायाको व्यवस्थापन गर्न बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिकाले खासै चासो नदिएपछि यो छाडा चौपाया ब्यवस्थापन वारे भैरहवाका बुद्धिजीवी, उद्योगी ब्यवसायि स्थानिय युवाले चासो दिएर सामाजिक संजालवाट समेत दवाव दिएको पाईन्छ । तिलोत्तमा नगरपालिकाले नगर क्षेत्रका छाडा चौपायाका व्यवसपन गर्न गतवर्ष १५ लाख रुपैया तिलोत्तमा गौशालालाई दिन वजेट विनियोजन समेत गरेको थियो । छाडा चौपायाको समस्या रुपन्देहीको भैरहवा क्षेत्रमा विगत ६ महिनादेखि निकै रहेको स्थानिय विजय सागर श्रेष्ठले वताउदै भन्नू हुन्छ यो समस्या वारे सिद्वार्थनगर नगरपालिका र सरोकारवाला निकायलाई वारम्वार भन्यौ तर खास चासो दिएको पाईदैन । खासगरि सडकमा जथाभावी डुल्ने सडक चौपायाको मलमुत्रले वातावरणीय प्रदुषण वढाएको, भैरहवा सहरको शोभा घटाउनुका साथै स्थानिय व्यापारी किसानलाई निकै समस्या पारेको उहाको भनाई छ । भैरहवा गल्लामण्डिमा व्यवसायी नेत्र आचार्यले दुहुना, वृद्ध र थारा चौपाया जथाभावी छाडी दिने गर्नाले पसलका मालवस्तु, तरकारी, फलफुल, खाइदिनुका साथै आवतजावतमै समस्या भएको हुनाले बढी समस्या उत्पन्न भएको वताउदै भन्नुभयो वारम्वार समस्या वारे जानकारी दिदा पनि नगरपालिकाले यो समस्या वारे खास चासो दिएन । उहाले कतिपय ब्यक्तिले दुहुना गाई दोएर दिनभर छाडिदिने गर्दा झन समस्या बढेको वताउदै त्यस्ता दुहुना चौपाया सम्वन्धित व्यक्तिले गोठ वनाएर नपाले नगरपालिकाले नियन्त्रणमा लिई किसानलाई दिन उपयुक्त पहल गर्नपर्ने सुझाउनु भयो ।
उता छाडा चौपायाको समस्यालाई लिएर रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्त र सिद्वार्थनगर नगरपालिका प्रमुख हरि अधिकारी समक्ष समस्या समाधानको लागि पहलगरिदिन पटक पटक जानकारी गराएको स्थानीय युवा प्रख्यात पाण्डे वताउनु हुन्छ ।
पछिल्लो समय सिदार्थनगरपालिका भित्र विगत लामो समय देखिएको छाडा चौपायाको समस्याको समाधान तर्फ सिद्वार्नगर नगरपालिकाले चासो दिएपनि समस्याले निकास भनी पाएको छैन ।

 


समस्या समाधान गर्नका लागि सिनपा का नगर प्रमुख हरि प्रसाद अधिकारी , प्रशासकिय अधिकृत तुल्सी मरासिनी, वडा अध्यक्षहरु चेतबहादुर क्षेत्री, सतिश मरासिनी, राजन जंग राणा, स्थानिय युवा प्रख्यात बन्जाडेको टोली केहिदिन अघि रुपन्देही गैडहवा गाउपालिका ७ सुर्य पुरामा रहेको विनिता एग्रो फर्म अवलोकन गरेको छ । उक्त अवसरमा फर्मका संचालक सितेश श्रेष्ठ छाडा चौपायाका लागि सिद्वार्थनगर नगरपालिकाले घाँस दानाका लागि केही रकम सहयोग गरे भैरहवा क्षेत्रमा रहेको एकसय बढि छाडा चौपाया ब्यवस्थापनको जिम्मा लिने वताए । टोलीले ३ पटक स्थलगत निरीक्षण गरि सकेको भएपनि कसरी चौपाया ब्यवस्थापन गर्ने भन्ने टुंगोमा नगरपालिका पुग्न भनी सकेको छैन । केही स्थानियले सिद्वार्थनगर नगरपालिकाको क्षेत्रमा रहेको खाली जग्गामा कान्जी हाउस वनाएर छाडा चौपाया ब्यवस्थापनको लागि स्थायी समाधानको वाटो लिन उपयुक्त हुनेपनि सुझाव दिएका छन् । सिद्धार्थनगर नगरपालिकाले चाँडो नगरवासीको सुरक्षा, नगरको सौन्दर्य र छाडा चौपायाको व्यस्थापनमा ठोस कदम अगाडी बढाउनेमा नगरबासीहरु आशाबादी रहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार