पुराना जिन्स ‘रिभाइभ’ गरेर नयाँ सामान बनाउँदै

(यो लेख सेतोपाटीमा पहिलो पटक २०७६ वैशाख २५ गते प्रकाशित थियो।)

असनको साँघुरो गल्ली छिचोल्दै, अग्लो घरको अँध्यारो भर्याङ उक्लिँदै जब हामी चौथो तल्लामा पुग्यौं, त्यहाँ अर्कै संसार र सपना बुनिँदै थियो।

कोठा पनि अँध्यारो र साँघुरै थियो, तर सपना देख्न र सपना बुन्न त उज्यालो किन चाहियो?

तीन-चार जना व्यक्ति अटाउन गाह्रो पर्ने त्यस कोठामा दुई जना महिला भ्याइनभ्याइ झोला बुन्दै थिए, जसको तल्लो भागमा ट्याग झुन्डिएको थियो- रिभाइभ।

रिभाइभ, अर्थात् कुनै कुरामा फेरि प्राण भर्नु वा पुनर्जीवित तुल्याउनु।

असनस्थित ‘अपसाइकल नेपाल’ ले करिब आठ महिनादेखि पुराना जिन्सका कपडामा प्राण भर्ने काम गर्दै छ।

पुष्पा स्थापित र राजन चक्रधारद्वारा सञ्चालित ‘अपसाइकल नेपाल’ ले पुराना जिन्सबाट ल्यापटप र ट्याब्लेट कभर, कि-रिङ र क्यामरा राख्ने झोला बनाउँदै आएको छ।

 

घर-घरबाट त्यसै मिल्किने पुराना जिन्स बटुलेर नयाँ प्रयोगमा ल्याउनु उनीहरूको उद्देश्य हो।

किङ्स कलेजबाट उद्यमशीलतामा स्नातकोत्तर गरिरहेका २७ वर्षीया पुष्पा र २६ वर्षीय राजन पहिलेदेखि नै हस्तकला सामग्री बनाउँथे। कलेजमा हुने विभिन्न कार्यक्रममा आफूले बनाएका हस्तकला सामग्री प्रदर्शनमा राखेर उनीहरूले थुप्रै पुरस्कार जिते। यसले व्यावसायिक रूपमा अिघ बढ्न हौसला मिलेको उनीहरू बताउँछन्।

तिनै कार्यक्रममध्ये एउटामा जितेको नगद पुरस्कारबाट ‘अपसाइकल नेपाल’ सुरू गरेको उनीहरू बताउँछन्।

स्नातक पढ्दापढ्दै आफ्नै व्यवसाय थालेका पुष्पा र राजनलाई सुरूआती दिन सजिला थिएनन्। घरपरिवारबाट पढाइ बिगार्लान् भन्ने चिन्ताले रोकतोक भयो। पछि परिवारले साथ दिए पनि आर्थिक समस्याले व्यवसाय सुरू गर्न गाह्रो परेको

‘कार्यक्रमबाट जितेको पैसाले मात्र सबै व्यवस्थापन गर्न गाह्रो भयो,’ उनले भनिन्, ‘मेरै घरमा कार्यालय राखेर काम सुरू गर्यौं।’

आर्थिक भार नपरोस् भनेर अिहले पनि दुई जनाभन्दा बढी कर्मचारी नराखेको उनले बताइन्।

हस्तकलाप्रति उनको लगाव घरैबाट भयो। आफ्नी आमाले सिलाइबुनाइको काम गरेको देखेर डिजाइनिङ क्षेत्रमा लाग्न प्रभावित भएको पुष्पा बताउँछिन्। यहाँ भने उनी डिजाइनिङ मात्र गर्दिनन्, पुराना लुगा पुनः प्रयोगमा पनि काम गर्छिन्।

‘आमाले सिलाइको काम गर्दा सँगै बसेर सिक्ने गर्थें,’ पुष्पा भन्छिन्, ‘पछि कलेजमा हुने कार्यक्रममा यही सीपलाई नयाँ ढंगले प्रस्तुत गरेँ। सबैले प्रशंसा गर्नुभयो।’

पुराना जिन्स संकलन गर्न उनीहरूले ‘कबाडी’ एपसँग साझेदारी गरेका छन्। ‘कबाडी’ ले पुराना जिन्स र प्रयोग गर्न मिल्ने अन्य पुराना कपडा संकलन गरेर उनीहरूलाई दिन्छ। ‘हामी सम्बन्धित व्यक्तिसँग सिधै सम्पर्क गरेर पनि पुराना लुगा संकलन गर्छौं,’ राजनले भने, ‘कसैले सम्पर्क गर्यो भने घरमै लिन जान्छौं।’

 

जिन्स बलियो र धेरै वर्ष टिक्ने कपडा भएकाले लगाउन नमिले पनि विभिन्न सामग्री बनाउन सकिन्छ। पुष्पा र राजनले जिन्सको कपडामा नेपाली ढाकाको डिजाइन भर्ने गरेका छन्। जिन्स र ढाकाको मिश्रण धेरैले रूचाइरहेको राजन बताउँछन्।

‘हेर्दा स्टाइलिस छ। बलियो हुन्छ। ढाकाले नेपालीपन पनि झल्काउने हुँदा मानिसहरू यसमा आकर्षित भएका छन्,’ उनले भने।

यति हुँदाहुँदै अझै कतिपय व्यक्तिहरू पुराना कपडा प्रयोग गरेको भनेर हिच्किचाउने गरेको पुष्पाको भनाइ छ।

‘कोही मानिस पुरानो कपडाबाट बनेको सामान प्रयोग गर्न लाज मान्छन्,’ पुष्पा भन्छिन्, ‘ठूला ब्रान्ड बजारमा हाबी भएकाले हाम्रोजस्तो स्थानीय उत्पादनको बजार बढ्न सकेको छैन। प्रयोगकर्ताहरूले यसको महत्व बुझे देशको आर्थिक अवस्था र वातावरण दुवैमा सुधार आउने थियो।’

उनको अनुसार ‘अपसाइकल नेपाल’ ले ब्रिकी भएको सामान पुरानो भएपछि पुनःप्रयोगमा ल्याउने गरेको छ।

 

‘एउटा जिन्स बनाउन करिब दुई हजार लिटर पानी प्रयोग भएको हुन्छ,’ राजन भन्छन्, ‘त्यही जिन्स फेरि फेरि प्रयोगमा ल्याउँदा अत्यधिक खर्च हुने पानी जोगिनुका साथै पर्यावरण प्रदूषण कम गर्न मद्दत गर्छ।’

‘रिभाइभ’ का यी सामग्री ‘दराज’ को अनलाइन सपिङ वा ‘अपसाइकल नेपाल’ कै फेसबुक साइटबाट अर्डर गर्न मिल्छ। अर्डर आएपछि राजन आफैं घरघर पुर्याउन जान्छन्।

थोरै बजेट र दुई जना मात्र कर्मचारी भए पनि ‘अपसाइकल नेपाल’ ले आफ्नो व्यवसायमा सुधार गरिरहेको छ। नियमित कलेज जानुपर्ने हुँदा काममा मात्र ध्यान दिन नसकेको राजन बताउँछन्।

युवाहरूमा उद्यमी बन्ने ‘क्रेज’ बढिरहेका बेला राजन र पुष्पा यसलाई हल्का रूपमा नलिन सुझाव दिन्छन्।

‘प्राय: युवाहरू अरूको प्रगति देखेर त्यसकै सिको गर्छन् र असफल हुन्छन्,’ पुष्पा भन्छिन्, ‘पैसा र आइडिया छ भन्दैमा उद्यमी बन्न सकिँदैन। उत्पादन र बजारको पनि ज्ञान हुनुपर्छ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार