क्रान्तिकारी छलाङ

‘भोकै बस्नुपरेको भा बरु बसिन्थ्यो। आज एक थोपो मुखाँ परेको भा, तेरो रगत बराबर धरोधर्म काइली। ए! एक गिलास ले त यसो घाँटी भिजाम्।’ सन्तरामको मदिराको गहिरो तलतल बोल्यो। ‘क्यार्नु साल्दाइ, स्कुलको फिस तिर्न भनेर पारेको, बेच्नै पाइन्न रक्सी भन्छन् काम्रेडहरू। पार्नेलाई नि, खानेलाई नि कारबाही अर्ने भन्चन्।’ पान्धारे साहिँलीले लामो त्रासको श्वास फेरेर भनी।

‘कसैको लुटेर खाको हैन। मेरा बाउको सम्पत्ति खाएँ त खाएँ भन्न पनि नपाउनु’ भर्खर लाहुरबाट आएको टिम्मुरबोटे घिम्रे ठाइँलोले मनको तीतो पोखे। ‘बाउबाजेको चलन परम्परा पनि मान्न नपाउने कस्ता जमाना, वैशाख पूर्णेमा पनि जाँड खान नपाउनु। यस्तो त श्री तीन सरकारका पालामा पनि जानिएको थिएन’ भडारी जिम्वलबाले सानो आवाज पारेर जङ्गिए।

कामरेडहरुको एक हुल हतियारसहित आएर त्यो लालपुर गाउँलाई आधार इलाका घोषणा गरेको पनि आज एक हप्ता बितिसकेको छ। प्लाटुन कमान्डर ‘कमरेड चट्याङ’ ले आफ्नो आगमनको औचित्य पुष्टि गर्दै अक्सर यसो भन्ने गर्थे,

‘गाउँका जनताका मुक्तिका लागि सांस्कृतिक क्रान्ति हुन जरुरी हुन्छ। त्यसैले हामी समाजमा व्याप्त गलत परम्पराको अन्त्य गर्ने घोषणा गरेका छौँ। अब जाँडरक्सीको अन्त्य भयो यो गाउँमा। पुराना सबैखाले अन्धविश्वास र परम्परा सबै तोडिइसकेको छ। गाउँ रक्सीमुक्त भइसकेको छ।’

क्रान्तिकारी छलाङ भनेको यही हो। केन्द्रीय सत्ता पनि कब्जा भइसकेकाले अब नेपाली क्रान्तिलाई इन्द्रेको बाउ चन्द्रेले त के भारत, अमेरिकाले पनि रोक्न नसक्ने’ दाबी पनि चट्याङले गरे।

गृहिणी र जनसाधारण सबैले गाउँमा जाँडरक्सीको व्यवहार बन्द भएकोमा खुसी व्यक्त गरे। गाउँमा क्रान्तिकारी कमरेडको पार्टी कमिटी बने, कामरेडहरुको एफएमले भनेपछि पदाधिकारीले पनि थाहा पाए। कसैले अनौठो मानेनन्।

केही श्रीमतीहरु रक्सी खाएर कुटिनबाट जोगिए यस हप्ता। बच्चाहरुको स्कुलको फिस बाबुले भट्टीमा उडाएको कुनै गुनासो आएन। गाउँमा कामरेडहरुको यो कदमको भव्य स्वागत भयो। जाँच फिस तिर्ने पैसा नभएर केटाकेटालाई परीक्षा दिन नदिने भाएका छन्, ‘यो दुई बान पारेको रक्सी बेचेर तिर्ने र चामल किन्ने’ भनेको असत्तीहरुले सप्पै उधारो मात्र खाइदेर दिक्क लागाइसके’ मुर्मुरिँदै मानी उचाल्दै भुनभुनाउँछिन्।

‘आफूहरु जसको पायो त्यसको खोरको खसी लाग्यो अनि जर्किनका जर्किन रक्सी धोकेर बस्छन् अनि हामीले बाँच्नलाई रक्सी बनाएर बेच्दा पनि देखिसहन्नन् पातकीहरु।’ काइली माया विकको फरक पीडा अनि दुःखले धिक्कार्दै खुइय…गर्छिन्।

मदिरा निषेध गर्ने निर्णयले त्यो बेलाका क्रान्तिकारीहरुको चौतर्फी तारिफ हुँदै गयो। कुरा सहरसम्म पनि फैलियो। उता सहरको पाँचतारेमा वाइन पिउँदै समाजशास्त्रीले समेत यस कदमको तारिफ गरे। यसलाई क्रान्तिकारी पार्टीले ठूलो उपलब्धिका रूपमा पनि लियो।

त्यस गाउँको पुछारमा रक्सी पारेको सुराँकी कमरेडको समूहसम्म पुग्न समय लाग्ने कुरै थिएन, पुग्यो। कमरेडहरु गाउँबाट हिँड्ने दिन समेत यस्तो अवज्ञाको समाचार सुन्नु पर्दा आक्रोशित हुँदै काइँली सुनार्नीको आगनमा हतियारसहित जम्मा भए। ‘हामीले भन्दाभन्दै हाम्रो आदेशको अवज्ञा गर्ने, जाओ साथीहरु हो घरको खानतलासी लेओ।’

चट्याङको आदेश पाउनासाथ ५/७ जना सैनिक पोसाकका युवाहरु भित्र छिरेर निमेषभरमा जाँड बनाउने ठूलो घैँटो, तमौरा, डालो, सोली, पैनी, हन्डी र तयारी दुई जर्किन रक्सीसमेत बाहिर पिँडीमा निकालियो। ‘ठोक्दिम, हामीले भनेपछि नमान्ने?’ चट्याङले इन्सास बन्दुकको नाल कन्चटमा तेस्र्याएर सुनार्नीलाई हकारे। बच्चाहरू डराएर वरिपरि झुम्मिए।

‘हिजो सम्साँझै चार, पाँच जना आएर अर्को बटालियनबाट बढ्का कमरेड हाम्रो प्रशिक्षणका लागि आउने भएकाले सो बेलामा ‘सानो क्रान्तिकारी पार्टी हुने भएको कारण रक्सी नपारे मार्छौं भने। त्यसो भनेपछि ज्यान जोगाउन रक्सी पारेकी माहाराज। ज्यानको माया लाग्ने रहेछ, के गर्ने? लोग्ने काहाँ छन् काहाँ, अत्तोपत्तो नभएको एक्ली आइमाई, केटाकेटी साना छन्।’

सुनार्नी बोल्दाबोल्दै रोकिई र गहभरीका आँसु बर्बरती झारेर रुन थाली। सुनार्नी दिदीको ठूलो छोराले पोहोर साल ऋण असुल्न आएको जिम्वालका लठैतले नै आमालाई कुट्न आएको सम्झेर रून थाल्यो। ‘अझ बाहाना पर्छेस्?’

चट्याङले क्रुद्ध हुँदै भने– ‘यी रक्सी पार्ने भाँडा फुटाल्दे’ भन्ने वित्तिकै घैँटो, हन्डी, आरी लगायतका माटाका भाँडा आँखै अगाडि धुलोपीठो भएको देखेर सुनार्नी कोकोहोलो हालेर रुन थालिन्। स-साना चार वटा बच्चा पनि आमा रोएको देखेर चिच्याई चिच्याई रुँदा वातावरण अत्यन्त पीडादायी बन्यो।

‘अब पनि रक्सी पारिस् भने यही झुप्रामा जिउँदै जलाइदिन्छौँ’ भनेर धक्याउँदै तयारी रक्सीका दुई जर्किन बोकेर कमरेडहरु उकालो लागे।

चौध बर्स पछि- उ बेला पढ्न नपाएर अरबको गर्मीमा लेबर काम गर्न पुगी फर्केको छोरोले ल्याएको घरको श्यामश्वेत टेलिभिजनमा सोही कथित गौरवशाली क्रान्तिका महान नेताले ‘काजु र हिमालयन रिजर्भ’ रक्सी बोकेर महिलाको कोठामा गई मात्तिँदै अनेक हर्कत गरेर ‘फर्गेट यस्टर्डे’ भन्दा पनि प्रहरीले सुन्दै नसुनी घिच्च्याउदै समाएर लगेको दृश्य देख्दा जम्मै परिघटनाहरु राम्रोसँग नबुझे पनि ‘इ… ..तेरा क्रान्ति अनि तिमारका क्रान्तिकारी छलाङ’ भनेर लोपार्दै काखी बजाएर ‘खुच्चिम’ भन्दै छिन् काइँली माया सुनार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार