सुजीव शाक्यको ‘अर्थात् परिवर्तन’ ई-बुकमार्फत् सार्वजनिक

पाँचवटा एकल अध्याय सार्वजनिक गरिसकेपछि, सुजीव शाक्यको नयाँ पुस्तक ‘अर्थात् परिवर्तन’ लाई पब्लिकेसन्स् नेपालयले आफ्नो पहिलो ‘ई-बुक’का रुपमा सार्वजनिक गरेको छ।

निबन्ध संगालोका रूपमा रहेको यो पुस्तक शाक्यको अघिल्लो पुस्तक ‘अर्थात् अर्थतन्त्र’ कै परिवेशमा लेखिएको छ। यस पुस्तकले नेपाली समाजलाई गरिबीको शिकार बनाई राख्ने रोगहरूको स्वभाव खोतल्दै तिनलाई निदान गर्न केही कदम अगाडि बढ्नु पर्नेतर्फ चर्चा गरेको नेपालयले जनाएको छ।

साथै यस्ता सामाजिक समस्या उन्मूलनका लागि समाधानका नवीन उपायहरू सुझाएको छ। यो पुस्तक शाक्यको चौथो पुस्तक हो भने नेपाली भाषामा दोस्रो पुस्तक हो।

‘एकल अध्याय सार्वजनिक गरेपछिको प्रतिक्रिया उत्साहजनक रह्यो’ नेपालयका किरण कृष्ण श्रेष्ठ भन्छन्, ‘धेरै पाठकहरूका निम्ति भर्चुअल मञ्च अंगाल्नेतर्फको यो व्यवहारिक छलाङ भए पनि हामीले ‘प्राइमरी ई-बुक’ प्रकाशनलाई उत्साहजनक प्रयत्नका रूपमा लियौं। एकल अध्यायहरू सार्वजनिक गर्दा र अन्य पुस्तकहरूको ई-बुक संस्करण प्रतिको पाठक रूचिले नेपाली पुस्तक बजार ई-बुकको निम्ति तयार रहेको इंगित गरेको छ।’

नेपालयले आफ्ना सबै प्रकाशनहरू नियमित परम्परागत मुद्रण-माध्यमका साथै अन्य वैकल्पिक माध्यममार्फत् पनि उपलब्ध गराउँदै आएको जनाएको छ। त्यसैले प्रकाशका सबै पुस्तकहरू अमेजन, बार्न्स एन्ड नोबल नेटवर्कमार्फत् विश्वव्यापी रुपमा उपलब्ध छन्। किताबका अंग्रेजी संस्करण विद्युतीय माध्यम किन्डलमा पनि उपलब्ध छन्। भाषा अवरोधका कारण, नेपाली पुस्तकहरू ई-पुस्तकहरूको रूपमा व्यापक हुन सकेका थिएनन्।

नेपालयको अनलाइन पुस्तक बिक्रेता मध्येका एक थुप्रैडटकमले ई-बुक किनेर पढ्न सजिलो र प्रभावकारी प्लेटफर्म बनाएपछि यो योजना सफल भएको हो।

‘हामी उत्साहजनक साथै अनिश्चित समयमा बाँचिरहेका छौं,’ पुस्तकको पृष्ठभूमिसँग जोड्दै लेखक शाक्य भन्छन्, ‘समयसँगै चलायमान रहने सही उपाय भनेकै सकारात्मक परिवर्तन अँगाल्दै अघि बढ्नु हो। नेपाल लोकतान्त्रिक संघीय प्रणालीमा रूपान्तरण हुने बित्तिकै हामीले विकासको मूल्यांकन र समृद्धिका लागि कम्मर कसेर लाग्नु पर्ने समय आएको हो। गएको चुनावमा त्यही एजेन्डाले अनुमोदन पनि पाएको हो। तर त्यसलाई प्राप्त गर्न यहाँ अनेकौं चुनौती र अवरोध विद्यमान छन्। जसलाई हामीले सम्बोधन गर्न आवश्यक छ। समृद्धि र सपना प्राप्त गर्न सकिन्छ भन्ने विश्वासका साथ पुस्तकले यिनै कुरालाई वर्गीकृत गर्दै उपचार खोज्ने प्रयास गरेको छ।’

यो पुस्तक थुप्रैको एपमा एकल अध्याय पढे जसरी नै सजिलो रुपमा पढ्न सकिन्छ। जसले एकल अध्यायहरू किनेर पढिसकेका छन् ती पाठकलाई मूल्यमा छुटको व्यवस्था गरिएको छ।

‘अर्थात् परिवर्तन’ को ई-बुक २ सय ५० रूपैयाँमा उपलब्ध छ। पूर्ण पुस्तकका साथै पाठकहरूलाई १५ रूपैयाँमा एकल अध्याय किन्ने वैकल्पिक सुविधा पनि छ। यसका अध्यायहरु माथिकै मूल्यमा लेखककै आवाजमा सुन्न सकिने व्यस्था पनि गरिएको छ। पुस्तकको छापा संस्करण भने लकडाउनपछि उपयुक्त समयमा बजारमा उपलब्ध हुने नेपालयको भनाइ छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार