पुँजीवादी भनेपछि सक्किगो नि !

मेरो अघिल्लो लेख पूर्वमाओवादी नेता लोकेन्द्र विष्ट मगरको परिवर्तित जीवनशैलीका बारेमा थियो। त्यो शैलीलाई मैले पुँजीवादी भनेको थिएँ र त्यो शैलीको प्रशंसा गरेको थिएँ।

केही पाठकले त्यो लेखको चर्को आलोचना गरेका छन्। लोकेन्द्र विष्टजस्ता पौरखीलाई पुँजीवादी भन्ने? जनताको नाममा शासनसत्तामा ढलिमली गरेका दुष्टहरू असल अनि आफ्नो श्रममा बाँच्ने प्रयास गरिरहेका लोकेन्द्र विष्ट खराब? के उनले पनि जनता लुट्ने धन्दा जारी राख्नुपर्थ्यो? भनेर मलाई सोधिएको छ।

धेरै प्रश्नहरू पूरै लेख नपढी शिर्षक मात्र पढेर सोधिएका हुन् भन्ने मलाई लाग्छ। किनकि हाम्रो समाजमा पुँजीवाद भनेको खराबै हो भन्न अभिशप्तहरूको जमात ठूलो छ। अन्यथा पुँजीवादलाई तुच्छ गालीको समानार्थी सम्झिएर ती पाठक ममाथि खनिने थिएनन्।

आश्चर्य, पूर्वमाओवादी नेता बाबुराम भट्टराईले समेत उक्त लेखको विषयवस्तुलाई पुँजीवादको जितका रूपमा प्रस्तुत गरिएको भन्दै आपत्ति जनाएका छन्। फरक मत राख्नेलाई एउटा लेबल लगाइदिने आफ्नो स्वभावजन्य शैलीमा उनले लेखकलाई ‘नवउदारवादी बौद्धिक’ को लेबल लगाइदिए र लेखमा गरिएको तर्कलाई ‘मुढाग्रह’ भने।

थप अनौठो, अहिलेको आवश्यकता बजार र राज्यको समूचित भूमिकासहितको समाजवाद हो भन्ने ठहर गर्दै उनले पुँजीवादको विकल्प साम्यवाद होइन र साम्यवादको विकल्प पुँजीवाद होइन भनेका छन्।

हाम्रो चासोको विषय पुँजीवाद वा साम्यवादको जित-हार हो भन्ने रटान नेपालको कम्युनिस्ट आन्दोलनको वैचारिक नेतृत्व गरेको हुँ भन्नेहरूले दशकौंदेखि लगाउँदै आएका छन्। धेरै युवा यो रटानमा फसेका छन्। उनीहरू शब्दमा जान्छन्। अर्थमा पस्ने दुःख गर्दैनन्।

धर्मलाई अफिम भनेर कार्यकर्तालाई घोकाएका नेताहरूले कार्ल मार्क्सलाई ईश्वर, उनले भनेका कुरालाई ब्रह्म वाक्य बनाएका छन्। कम्युनिस्ट मेनिफेस्टो र दास क्यापिटललाई पवित्र ग्रन्थ बनाएका छन्। पुँजीवाद र पुँजीवादी शैली अधर्म हो, अपराध हो, पाप हो भनेर पढाएका छन्।

उनीहरूले माहोल यस्तो बनाएका छन् कि कसैलाई पुँजीवादी भनिदिएपछि सक्कियो, थप तर्क गर्नै पर्दैन। को किन पुँजीवादी हो? उसले भने-गरेका कुरा किन खराब हुन जान्न-बुझ्न पर्दैन। मार्क्सले भनेपछि सक्किगो नि, किन थप तर्क गर्नुपर्‍यो भन्ने बुझाइ छ। कतिलाई त मार्क्सले भनेकै हुन् कि होइनन् भन्ने पनि थाहा छैन।

वादप्रतिवादको शृंखलामा धेरै प्रतिभाशाली चिन्तकहरूले जस्तै मार्क्सले केही तर्कहरू अघि सारे। उनको तर्क गर्ने शैली बेजोड थियो, तिखो भाषा र डरलाग्दा बिम्ब प्रयोग गर्थे। यसले धेरैलाई आकर्षित गर्‍यो।

तर धेरै कम्युनिस्ट नेताहरूले भन्नेजस्तो उनले नितान्त नौलो विषय उठान गरेका होइनन्। उनले निकालेको समाधानको चर्चा मानव इतिहासमा पहिले कहिल्यै नभएको भन्ने पनि होइन।

मार्क्सभन्दा अघि केही चिन्तकहरूले समृद्धिका लागि उच्च आर्थिक वृद्धि चाहिन्छ, उच्च आर्थिक वृद्धिका लागि बजार अर्थतन्त्र उत्तम विकल्प हो भनेका थिए।

मार्क्सले होइन भने। बजार व्यवस्थामा श्रमिकहरू लुटिन्छन् भने। श्रमिकहरू निरन्तर लुटिने भएकाले त्यो व्यवस्था धेरै टिक्दैन, बजार व्यवस्थामा भएको संरचनागत समस्याले आफैं नासिन्छ भन्ने तर्क गरे।

उनले ‘बुर्जुआ व्यवस्थाले आफ्नो चिहान आफैं खन्छ’ भन्ने खालको शब्द प्रयोग गरे। यसलाई मार्क्सवादी साहित्यको विशेषता मान्नुपर्छ। अर्थसँग मतलब नहोस् तर चर्का शब्दको प्रयोग गर्ने, ताकि मान्छेको मनमा गडिरहोस्, रगत उम्लियोस्, विद्रोह पलाओस्।

कम्युनिस्ट मेनिफेस्टोको सुरूदेखि अन्त्यसम्म यस्ता थुप्रै कुरा छन्।

मार्क्सका विचार फगत विचार हुन्, ध्रुव सत्य होइनन्। उनका अनुमान सबै सही ठहरिन्छन् भन्ने छैन। तर कथित मार्क्सवादीलाई यो सत्य पचाउन गाह्रो पर्छ। मार्क्सवादलाई नै जीविकोपार्जनको माध्यम बनाएकाहरूलाई यो सत्य पचाउनु आफ्नै जीविका संकटमा पार्नु हो।

त्यसैले उनीहरू कुतर्क गर्छन्। पश्चिमी गोलार्द्धको जस्तो आर्थिक समृद्धि चाहन्छन् तर त्यस्तो समृद्धि सुनिश्चित गर्ने विधि रोज्न चाहँदैनन्।

पहिले उनीहरू गरिबी निमिट्यान्न पार्ने कुरा गर्छन्। ‘बजार व्यवस्थाले गरिबी घटायो’ भन्ने तथ्य प्रस्तुत गर्‍यो भने ‘गरिबी त घट्यो तर असमानता बढ्यो’ भन्ने कुरा झिक्छन्। यस किसिमको ‘अंगुर अमिलो’ भन्ने कुतर्क गरीगरी पुँजीवादी व्यवस्थालाई खराब देखाउने प्रयत्न गर्छन्।

तीमध्ये पुँजीवादविरुद्ध उनीहरूले छरेका केही प्रतिनिधि भ्रमहरू यस्ता छन्ः

पुँजीवाद प्रायोजित हो 

हामीकहाँ पुँजीवाद पश्चिमा एजेन्डा भनिन्छ। त्यसो हो भने पश्चिममा यसको प्रायोजक को थियो होला? धेरैले पुँजीवादको नाम एडम स्मिथसँग जोड्छन् जसलाई अर्थशास्त्रका पिता पनि भन्ने चलन छ।

उनले राष्ट्रको धन भनेको श्रम, भूमि र पुँजीको अन्तक्रियाको योग हो भनेका थिए। स्मिथले ‘वेल्थ अफ नेसन्स’मा यसो भनेका हुन्। तर यसअघि उनले ‘द थ्योरी अफ मोरल सेन्टिमेन्ट’ लेखेका थिए जसमा मान्छेको चरित्र, स्वभाव, विश्वास र नैतिकताको व्याख्या गरेका छन्।

तर उनले कुनै डिजाइन (योजना) को कुरा गरेका थिएनन्। उनले मान्छेको उन्नतिको इतिहास उसले डिजाइन गरेर बनेको होइन बरू उसका कर्मको नतिजा हो भनेका थिए।

जसरी समाजवाद योजनामा आधारित हुन्छ पुँजीवादले पनि त्यसैगरी काम गर्नुपर्छ भन्ने अनुमान धेरैले गर्छन्। योजनाविहिन, सरकारविहिन समाजको परिकल्पना हाम्रा लागि कहालीलाग्दो हुन्छ।

बजार प्रणाली कसैको डिजाइन होइन बरू मानवीय अन्तक्रिया तथा आविष्कारबाट विकसित भएको नतिजा हो। जस्तै मान्छेले बोल्ने भाषा कसैको एकल प्रयास वा योजनाबाट अस्तित्वमा आएको होइन। मानवीय भाषा सरल छैन। यसको प्रयोग, व्याकरणका नियमहरू जटिल छन्। तर पनि भाषाको यो भव्य संरचना कसैको नियोजित प्रयास होइन।

बजारका बारेमा पनि यही भन्न सकिन्छ। लाखौं-करोडौं मान्छेहरूका अन्तक्रियाबाट वर्षौं लागेर बजारको नियम बनेको हो, मानवीय समन्वय, सहकार्य र प्रतिस्पर्धाबाट बजार संयन्त्र खडा भएको हो।

करोडौं व्यक्तिहरूबीचको अन्तर्क्रियाबाट ब्युत्पन्न बजारको स्वचालित काइदाले नवसिर्जनालाई निरन्तर प्रेरित गरिरहन्छ। यो पुँजीवादको महत्वपूर्ण पक्ष हो। मानवताबाटै खडा हुने संस्था भएकाले पुँजीवाद टिकाउ हुन्छ।

समाजवाद लगायतको सामूहिकतावादी दर्शनमा मान्छेहरूको व्यवहारमा एकरूपता अपेक्षा गरिन्छ। सबै मान्छेको उद्देश्य एउटै हुन्छ, उस्तै खान्छन्, उस्तै लाउँछन्, उस्तै सोच्छन्। यो मानवीय चरित्रविरुद्ध छ। यस विपरीत पुँजीवादमा विविधता र मानवीय व्यवहारमा हुने अनिश्चितता स्वीकार गरिन्छ। त्यसकारण मान्छेले गर्ने निर्णय, उसले गर्ने कर्म र त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार उसैलाई बनाइन्छ। कसैले कसैको ठेक्का लिँदैन।

व्यक्तिलाई उच्चतम स्वतन्त्रता उपलब्ध गराउने यस खालको परिपाटीले मान्छेलाई उत्पादनशील, जिम्मेवार र अनुशासित बनाउँछ। मैले गरेको उद्यमको जिम्मा म आफैंले लिनुपर्ने भएपछि मलाई अनुशासित हुन कर लाग्छ।

पुँजीवादले गरिबी जन्माउँछः

पछिल्लो तीन चार दशकमा दुई अर्ब मान्छे चरम गरिबीबाट उत्रिएका छन्। सबभन्दा धेरै मान्छे गरिबीबाट उत्रिएको हाम्रा दुई छिमेकी मुलुक चीन र भारतमा हो। यस अवधिमा चीनबाट मात्रै ६० करोड मान्छे गरिबीको रेखामाथि आए। यी दुवै मुलुकले आर्थिक गतिविधिलाई राज्य अधिनस्थ नियन्त्रणमूखी नीति त्यागेर बजार संयन्त्र अँगालेपछि यो सफलता हात पारेका हुन्।

गरिबी निवारणमा हाम्रो अनुभव गर्व गर्ने किसिमको नभए पनि केही सफलता मिलेकै छ। बहुदल पुनर्स्थापित हुने बेलामा आधा जनसंख्या गरिबीको रेखामुनि रहेकोमा अहिले २० प्रतिशत हाराहारीमा आएको छ।

तर पनि आलोचकहरू गरिबीको गीत गाउँदै पुँजीवादलाई गाली गर्न छाड्दैनन्। बरू तथ्यहरूले पुष्टि नगर्ने भएपछि गरिबीको मुद्दा आय-असमानतातर्फ मोड्छन्। जबकि आर्थिक असमानता पनि पुँजीवादको विशिष्ट चरित्र होइन। तुलनात्मक रुपमा पुँजीवादी मुलुक आर्थिक रुपमा समाजवादी मुलुकभन्दा कम असमान छन्।

पुँजीवादी उत्पादन विधि (निजी स्वामित्व र नाफा उद्देश्य) ले निरन्तर रुपमा वस्तु तथा सेवाको परिमाण बढाइरहेको हुन्छ। यसको लाभ धेरैभन्दा धेरै मान्छेमा विस्तार भइरहेको हुन्छ।

तीन सय वर्ष अघिसम्म मान्छेको भौतिक जीवनमा कुनै उल्लेख्य परिवर्तन थिएन। खेतीपाती र पशुपालनमा अधिकांश मान्छेको गतिविधि सीमित थियो। राजा, पुरोहित र तिनका वरपरका मान्छेबाहेक लगभग सबै गरिब थिए। रोग र भोकका सामु मान्छे निरीह, उपायहीन थियो। युरोपमा औद्योगिक क्रान्ति भएपछि भने मान्छेका कथा बदलिन थाल्यो।

मान्छेले धेरै उत्पादन गर्न थाल्यो। उसको आम्दानी, सम्पत्ति बढ्न थाल्यो। आयु बढ्न थाल्यो। पहिलेभन्दा सफासुग्घर निरोगी बन्न थाल्यो। उसलाई पहिलेभन्दा बढी फुर्सद मिल्न थाल्यो। फुर्सदको समय अरू रचनात्मक काममा लगाउन थाल्यो।

तर कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सले थालेको पुँजीवादी उत्पादन विधिको विरोधलाई अरू बुद्धिजीवि, कलाकार र राजनीतिकर्मीले अन्धाधुन्ध दोहोर्‍याइ रहे। पुँजीवादले मान्छेलाई गरिब बनाउँछ भन्ने मान्यताले आम मानसमा जरो गाड्यो। तथ्यहरूले विपरीत यथार्थ प्रस्तुत गरिरहेको छ। समाजवादी भनिएका मुलुकमा गरिबी व्याप्त थियो, करोडौं मान्छे भोकमरीले मरेका थिए।

पुँजीवाद भनेको पुँजीको मात्रै कुरा होः

चिन्तकहरू मध्येमा मार्क्सले पहिलोपटक ‘पुँजीवादी उत्पादन विधि’ भन्ने शब्दावली प्रयोग गर्दै त्यस्तो विधि कामै नलाग्ने र टिक्दै नटिक्ने ठोकुवा गरेका थिए। त्यसअघि कसैले पनि ‘पुँजीवाद’ भन्ने सिद्धान्त रचना गरेको थिएन। एडम स्मिथ, डेभिड रिकार्डो, थोमस माल्थसहरूलाई मार्क्स समग्रमा शास्त्रीय अर्थशास्त्री भन्थे।

आर्थिक चिन्तनकै कुरा गर्ने हो भने मार्क्सको कुनै मौलिक चिन्तन थिएन। उनले नौलो कुरा गरेका थिएनन्। स्मिथ र रिकार्डोले प्रस्तुत गरेका तर्क खण्डन गरेका थिए। उत्पादनको लागत, बजार मूल्य कसरी तय हुन्छ र उत्पादनमा संलग्न पक्षहरू पुँजी, श्रम र भूमिमा कसरी वितरण हुन्छ भन्ने विषयमा उनीहरूको ध्यान केन्द्रित थियो।

स्मिथले वस्तु उत्पादनमा लागेको श्रम नै त्यसको वास्तविक लागत हो भने। त्यसलाई रिकार्डोले थोरै परिमार्जित गरे। वस्तु उत्पादनको लागत एउटा भए पनि बजारमा विनिमय भने अर्कै मूल्यमा हुनसक्ने सम्भावना स्मिथ र रिकार्डो दुवैले देखेका थिए।

श्रमिकले श्रम लगाउँछ, उद्यमी पुँजी लगाउँछ तर भूमिपतिहरू बसीबसी खान्छन् भन्ने स्मिथले नै औंल्याएका थिए। यसमा उनले असन्तुष्टि जाहेर गर्नुका साथै यो परिपाटी चाँडै अन्त्य हुने बताएका थिए। छिट्टै वाणिज्य समाज (कमर्सियल सोसाइटी) स्थापना हुन्छ र भूमिपतिहरूले ‘नरोपेको खान पाउँदैनन्’ भन्ने अनुमान उनको थियो।

यस सन्दर्भमा मार्क्सभन्दा सय वर्षअघि नै स्मिथले समाज विकासको ऐतिहासिक क्रमको चर्चा गरेका थिए भन्न सकिन्छ। उनले शिकार युगीन समाज, कृषि तथा पशुपालनसहितको सामन्ती समाज र उद्योग व्यवसायसहितको वाणिज्य समाजको सामान्य व्याख्या गरेका थिए। स्मिथको मुख्य चासो मार्क्सको जस्तो द्वन्द्वात्मक भौतिकवाद र इतिहासको भौतिकवादी व्याख्या थिएन।

मार्क्सले पनि स्मिथ र रिकार्डोले जस्तै वस्तुको उत्पादन लागतमा श्रमलाई प्रधान माने। तर अघिल्ला अर्थशास्त्रीभन्दा फरक उनले चर्कोसँग वस्तुको उत्पादन लागत र बजार मूल्यका बीचमा पुँजीपतिहरूले चलखेल गर्ने र श्रमिकहरू ठगिने विषय उठाए। श्रमिकले सिर्जना गरेको अतिरिक्त मूल्य श्रमिकले नै पाउनुपर्ने समस्याको समाधान आर्थिक नियमबाट हुँदैन, राजनीतिक निर्णयबाट गरिनुपर्छ भने। उनले श्रमिकलाई संगठित हुन र सामूहिक सौदाबाजी गर्न आह्वान गरे।

स्मिथ, रिकार्डो र मार्क्सपछि पनि आर्थिक क्षेत्रमा थप खोज हुने नै भयो। वस्तु तथा सेवा उत्पादनको लागत वा बजार मूल्यको निर्धारण स्मिथ, रिकार्डो वा मार्क्सले भनेजस्तो सरल छैन भन्ने तथ्य बाहिर आए।

वस्तुको उत्पादन लागत र बजार मूल्य निर्धारण नै अलग तरिकाले हुने भएपछि त्यसमा को ठगिने, को नठगिने भन्ने विषय नै असान्दर्भिक भइसकेको छ। बजार अर्थतन्त्रमा पुँजिपतिहरूले श्रमिकको शोषण गर्छन् भन्ने तर्क नै व्यर्थ हुन गएको छ।

उत्पादन र वितरणको जुन विधिलाई पुँजीवाद भनेर चिनियो, त्यसमा जेजस्ता कमजोरी हुन्छन् भनियो, त्यो आधारहीन सावित भयो। अब त्यसलाई कथित मार्क्सवादीले अरू नैतिक, साँस्कृतिक आक्रमण गर्न थाले। बरु मार्क्स भएको भए आफ्नो सिद्धान्तमा भएको कमजोरी सच्च्याउँथे होला तर मार्क्सवादीहरू टसमस भएनन्।

विचारहरू क्रमिक रुपमा विकसित र परिमार्जित हुन्छन् भन्ने विज्ञान, मार्क्सवादलाई वैज्ञानिक भन्नेहरू नै मान्न तयार छैनन्। मार्क्सवादलाई सत्य निरुपण गर्ने एउटा औजार हो भन्नेहरू, अरू पनि धेरै औजार छन् भन्ने मान्न तयार छैनन्।

पुँजीवाद व्यक्तिगत स्वतन्त्रताको जगमा उभिएको हुन्छ। मान्छेलाई बजार संयन्त्रमार्फत उसको स्वार्थ सिद्ध गर्ने स्वतन्त्रता दिने हो भने उसले चामत्कारिक उपायहरू पहिल्याउँछ। उसले आफूलाई मात्र समृद्ध बनाउँदैन समग्र समाजलाई नै माथि उचाल्छ।

आफ्नो आवश्यकताभन्दा कैयौं गुणा बढी उत्पादन गर्ने क्षमता मान्छेले राख्छ। उसले आफ्नो आवश्यकताभन्दा बढी उत्पादन गरेर अतिरिक्त परिमाण बजारमा बिक्री गर्छ। यस क्रममा ऊ आफू धनी हुन्छ र अर्कालाई पनि धनी बनाउँछ।

यहाँनेर एउटा केटौलो बुझाइ के छ भने, बिक्री गर्ने सधैं धनी हुन्छ, किन्ने सधैं ठगिन्छन्। सभ्य र स्वतन्त्र समाजमा मान्छेहरूले कुनै पनि वस्तु तथा सेवाका लागि त्यति मूल्य तिर्न तयार हुन्छन् जति उसले त्यो वस्तुलाई उपयोगी ठानेको हुन्छ। अझ किनेको वस्तुबाट प्राप्त हुने लाभ, तिरिएको मूल्यभन्दा कैयौं गुणा बढी हुन्छ भन्ने मनमा लागेपछि मात्र मान्छे वस्तु किन्न तयार हुन्छ।

यस्तो परिपाटीको अभावमा मान्छे आफ्नो आवश्यकताभन्दा बढी सक्रिय हुँदैन। निजी सम्पत्तिको अस्तित्व नहुने हो भने मान्छेलाई अतिरिक्त रुपमा सक्रिय हुने प्रेरणा नै मिल्दैन। मैले कमाएको मेरो हुन्छ भने सुनिश्चित नभएसम्म म धेरै मिहेनत गर्दिनँ। मैले जति धेरै मिहेनत गर्छु, कमाउँछु, त्यति धेरै कर सरकारले उठाउँछ भने म किन धेरै मिहेनत गर्छु?

गतिशील समाजमा मान्छे निरन्तर रूपमा खोजमा लागिरहेको हुन्छ। अरूले भन्दा सस्तो लागतमा उपयोगी र गुणस्तरीय वस्तु उत्पादन गर्ने ध्याउन्नमा हुन्छ। पुराना गह्रुँगा, भद्दा, महँगा वस्तुका सट्टा नयाँ हलुका, छरिता र सस्ता वस्तु उत्पादन गर्ने होड चलेको हुन्छ। मान्छे निरन्तर रूपमा नौलो विधि, औजार र प्रविधिको खोजमा जुटेको हुन्छ।

पुराना उत्पादन छाडेर नयाँ उत्पादनमा स्रोतसाधनको उपयोग हुन थाल्छ। पुराना विस्थापित हुँदै नयाँ स्थापित हुँदै जान्छन्। यसलाई अर्थशास्त्री जोसेफ सुम्पिटरले क्रिएटिभ डिस्ट्रक्सन (रचनात्मक ध्वंस) नाम दिएका थिए। यसलाई हाम्रा कामरेडहरूले अर्थको अनर्थ लगाएर गाउँगाउँका भौतिक संरचना भत्काउने, आगो लगाउने, लुट्ने काम गरे।

यस अर्थमा पुँजीको संकलन पनि पुँजीवादी बजार अर्थतन्त्रको विशिष्ट चरित्र होइन। सबै खाले उत्पादन विधिमा वस्तु तथा सेवा उपलब्ध गराउन पुँजी आवश्यक हुन्छ। वस्तु निर्माणकै लागि पुँजीको माग गरिन्छ, थुपार्न होइन।

पुनर्उत्पादन उद्देश्यले नभई थुपार्न पुँजी संकलन गर्न थालियो भने त्यो नष्ट भएर जान्छ। पुँजी र पुँजीगत वस्तु आफैंमा सम्बर्द्धन, प्रवर्द्धन गरिनुपर्ने उत्पादनशील स्रोत हो।

पुँजीवादले जित्ने र हार्ने वर्ग निर्माण गर्छः

पुँजीवादी व्यवस्थामा कुनै व्यक्ति वा कम्पनी सफल हुन सक्छन् भने कुनै असफल। यो पनि पुँजीवादको विशिष्ट चरित्र होइन। यो जुनसुकै व्यवस्थामा हुन सक्छ। सबै मानवीय पहल सफल हुन्छ भन्ने हुँदैन।

तर यस सन्दर्भमा पुँजीवादी व्यवस्था अरूभन्दा दुई किसिमले भिन्न छ। पहिलो पुँजीवादमा सफलताको सम्भावना अरू व्यवस्थामा भन्दा उच्च हुन्छ। बजारमा प्रवेश गर्ने, निर्वाध रूपमा आफ्ना घोषित गतिविधि सञ्चालन गर्ने स्वतन्त्रता हुन्छ। अन्य व्यवस्थामा कर, लाइसेन्स, नियमन, अनुदान, कोटा लगायतका अनेकौं व्यवधान हुन्छन्।

दोस्रो धर्म, संस्कृति, जातीयता, राजनीतिक दर्शन, लिंगीय लगायतका आधारमा बजारले विभेद गर्दैन। यस्तो विभेद गर्ने उत्पादक वा उपभोक्ता स्वयं घाटामा जान्छ। विभेद उसैलाई महँगो पर्छ। असान्दर्भिक आधारलाई लिएर गरिने विभेदरहित समाजले बढी वस्तु तथा सेवा उत्पादन गर्न सक्छ र सफलताको दर उच्च हुन्छ।

समग्रमा पुँजीवादी व्यवस्थामा जित्नेहरू बढी हुन्छन्। यो इतिहाससिद्ध तथ्य हो।

हाम्रा पुर्खाहरूको भन्दा हाम्रो जीवनस्तरमा सुधार आएको सामान्य सत्य हो। हामीलाई हाम्रा पुर्खाभन्दा बढी खाना उपलब्ध छ, हामी उनीहरूभन्दा धेरै समय बाँच्छौं, पहिलेभन्दा अहिले धेरै केटाकेटी विद्यालय जान्छन्। यातायात सुलभ छ। व्यापार, पर्यटन, काम, शिक्षा, स्वास्थ्योपचारलगायत उद्देश्यले संसारभर घुमफिर गर्नेको संख्या आश्चर्यजनक रुपमा बढेको छ।

संसारका लागि यी विषय दुई-तीन सय वर्ष अगाडि कल्पना बाहिर थियो। सर्वसाधारण नेपालीले तीन-चार दशक अघिसम्म यो सोच्नै सक्दैन्थे।

पुँजीवादी व्यवस्थामा कुनै निजी उद्यमी वा कम्पनी असफल हुन सक्छ, हार्न सक्छ। समग्र समाज हार्दैन।

कसैले पुँजीवाद गलत हो, पुँजीवादी हुनु गलत हो भन्छ भने त्यसलाई पत्याइहाल्नु पर्छ भन्ने छैन। ऐतिहासिक तथ्यहरूको विश्लेषण हामी आफैं गर्न सक्छौं। नैतिक अनैतिक के हो, हामी आफैं छुट्याउन सक्छौं। ‘कसैले भनेको हो रे’ भनेको पछाडि लाग्यौं भने दुःख मात्रै हाम्रो भागमा पर्छ।

मार्क्सले नै भनेका हुन् भने पनि उनलाई हामी आफैं पढ्न सक्छौं। उनले भनेका कुरा संसारका लगभग सबैजसो भाषामा उपलब्ध छन्। उनले भनेका कुरा बुझ्न कुनै बिचौलिया बुद्धिजीविको आवश्यकता पर्दैन। उनले त ठूलो कुरा गरेका छन्, जोसुकैले सजिलै बुझ्दैन म अर्थ्याइदिन्छु कसैले भन्छ भने उसको नियतलाई हामीले बुझ्नुपर्छ।

मान्छेलाई सुखी बनाउने विचार, विधि कुन हो भन्ने अलमलमा पर्दा धेरैले दुःख पाएका छन्। रातारात परिवर्तन ल्याइदिन्छु भन्नेका कुरामा धेरै फसेका छन्। पौरखका कुरा बुझ्न गाह्रो छैन। लोकेन्द्र विष्टजस्ता पौरखीका कुरा पुँजीवादी विधिको आलोकमा हेरिनु अपराध होइन। पौरखीलाई पुँजीवादी भन्न पाइन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार