दयाहाङ राईका ५ राम्रा फिल्म, युट्युबमा

झन्डै डेढ दशकअघि ‘अनागरिक’ फिल्मबाट सिनेमाको दुनियाँमा प्रवेश गरेका दयाहाङ राई रंगमञ्च पृष्ठभूमिबाट आएका अभिनेता हुन्।

पन्ध्र वर्षको अवधिमा उनले करिब चालीस फिल्ममा अभिनय गरिसकेका छन्। तीमध्ये ‘सेतो सूर्य’, ‘तान्द्रो’, ‘लुट’, ‘दासढुंगा’, ‘टलकजंग भर्सेस टुल्के’, ‘स्वाभिमान’, ‘कबड्डी’ शृंखलामा उनको अभिनयलाई विशेष मन पराइएको छ। साना-ठूला, सकारात्मक-नकारात्मक सबै खालका भूमिका निर्वाह गर्दै आएका उनी विगत एक दशकदेखि चर्चाको केन्द्रमा छन्।

पर्दामा दयाहाङ सहज देखिन्छन्। खासगरी, जनजाति पृष्ठभूमिबाट आएर नेपाली मूलधारको सफल नायक वा हिरो बनेर उनले नयाँ इतिहास रचे। परम्परागत हिरोको मानक तोड्न सफल उनले चरित्रप्रधान अभिनेताका रुपमा आफूलाई पटक पटक प्रमाणित गरिसकेका छन्।

यस पटकको सूचीमा धेरै तामझाम बिना राम्रो अभिनय गर्न सिपालु उनै दयाहाङका पाँच फिल्म छनोट गरिएको छ जुन युट्युबमा सहजै हेर्न सकिन्छ।

दासढुंगा (२०१०), निर्देशक: मनोज पण्डित

२०५० साल, जेठ ३ सँग नेपाली इतिहासको नमिठो दुर्घटना जोडिएको छ। यही दिन तत्कालीन एमाले पार्टीका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुंगामा भएको गाडी दुर्घटनामा परी ज्यान गएको थियो। यो दुर्घटना आममानिसको स्मृतिमा आज पनि रहस्यमयी घटनाका रूपमा बसेको छ, जसबारे आजसम्म ठोस छानबिन हुन सकेको छैन।

यो घटनामा गाडी चालक अमर लामा संदिग्ध हत्याराका रूपमा जोडिएका थिए। अलि पछि कीर्तिपुरमा गोली हानी उनको पनि हत्या भएपछि दासढुंगा घटना झनै रहस्यमयी बन्यो। निर्देशक मनोज पण्डितको ‘दासढुंगा यही घटनाको सेरोफेरोमा बुनिएको फिल्म हो। दयाहाङ राईले दासढुंगामा उनै अमर लामाको भूमिका निर्वाह गरेका छन्।

राजनीतिक रूपमा चर्चित घटनाका रूपमा रहेको दासढुंगालाई दयाहाङले आफ्नो करिअरकै महत्वपूर्ण फिल्म मानेका छन्। अमर लामा बन्न उनले झन्डै सात केजी तौल घटाएको कुरा पनि चर्चामा आएको थियो।

फिल्ममा दासढुंगापछि घटनाको छानबिन गर्न प्रहरी अनुप बरालले मुख्य जिम्मेवारी पाउँछन्। घटनास्थल आसपासका मान्छे र अन्य स्रोतहरूसँग सोधपुछ गर्दै उनी अमर लामासम्म पुग्छन्। रहस्यमयी ढंगमा यो सोधपुछ र अनुसन्धानको क्रमले फिल्म भरी निरन्तरता पाइराख्छ।

अनुप फिल्ममा शंकालु अनुसन्धानकर्मीका रूपमा देखिन्छन् भने दयाहाङ शंकास्पद संदिग्ध। अनुपले आफ्नो अनुसन्धानका आधारमा दासढुंगाको प्रतिवेदन तयार पार्छन्। फिल्ममा सौगात मल्लको प्रवेश त्यही रिपोर्ट हात पार्न चाहने रहस्यमयी पात्रका रूपमा हुन्छ। सौगातको प्रवेशपछि फिल्म झनै रोचक बन्छ।

फिल्ममा दयाहाङ, अनुप र सौगात तीन जना कलाकारको सशक्त अभिनय देख्न पाइन्छ। मूल नायक अनुप बरालले अनुसन्धान गर्ने सरकारी अधिकारीको अन्तर्मुखी मनोदशा उतार्न भरमग्दुर प्रयास गरेका छन्। दयाहाङले घरी निर्दोष त घरी शंकास्पद पात्रका रूपमा जीवन्त अभिनय गरेका छन्। नकारात्मक चरित्रका रूपमा सौगातले छोटो भूमिकामा पनि प्रभावकारी छाप छाड्न सफल छन्।

किरण पौडेलको अनुसन्धान र खोज रहेको यस फिल्ममा वृत्तचित्र शैलीमा मदन–आश्रित जीवित हुँदाका ‘फुटेज’ हरू पनि प्रस्तुत गरिएको छ। विषय यथार्थ घटनाबाट टिपिएको भए पनि मनोजले निर्देशकका रूपमा यसमा काल्पनिक स्वतन्त्रता पनि प्रयोग गरेका छन्।

लुट (२०१२), निर्देशक: निश्चल बस्नेत

मल्टिस्टारर ‘लुट’ले नेपाली फिल्ममा सुकेको बजार मात्रै उकासेन, फिल्मको ट्रेन्ड नै बदलिदिएको मान्नेहरूको कमी छैन। व्यवसायिक रूपमा र समीक्षकका नजरमा समेत सफल यो फिल्मपछि दयाहाङ राई र सौगात मल्ल नेपाली फिल्मका सर्वाधिक प्रभावशाली कलाकार बने।

दयाहाङको करिअरको अति महत्वपूर्ण यो फिल्म हाकु काले (सौगात मल्ल) को बैंक लुट्ने मास्टरप्लान पूरा गर्ने प्रयाससँगै अघि बढ्छ। उसको यो मास्टरप्लानमा दयाहाङ राई, कर्मालगायत केही युवा जोडिन पुग्छन्। उनीहरूको बैंक लुट्ने प्लानमा आउने आरोह र अवरोह नै लुटको मुख्य कथा हो।

सौगात मल्लले निर्वाह गरेको हाकु कालेको भूमिका नेपाली फिल्मको सर्वकालीन यादगार पात्र हो। फिल्ममा गोफ्ले पात्रमार्फत चरित्र र अभिनयमा दयाहाङले सौगातसँग प्रतिस्पर्धा गरेका छन्।

निर्देशक निश्चल बस्नेतको यो फिल्मले बेरोजगार सहरी युवा र पैसा कमाउने दबाबमा उनीहरूले अपनाउने आपराधिक गतिविधिको कथा भन्छ। कथाभन्दा प्रस्तुतिका कारण रुचाइएको लुटको पटकथा, संवाद र अभिनयका कारण प्रशंसा कमाएको फिल्म हो। यसमा काठमाडौंका गल्लीदेखि भट्टीसम्मका दृश्य सुन्दर ढंगले खिचिएको छ।

लुट सकिएको ठाउँबाट अघि बढ्ने यसको सिक्वेल ‘लुट २’ मा पनि दयाहाङ महत्वपूर्ण भूमिकामा छन्। ‘लुट २’ पनि युट्युबमा उपलब्ध छ।

 

कबड्डी (२०१४), निर्देशक: रामबाबु गुरुङ

‘कबड्डी’ दयाहाङको सर्वाधिक रुचाइएको फिल्ममध्ये एक हो। यसमा उनी तीन कक्षा फेल काजी पात्रको भूमिकामा देखिएका छन्। मैंया (रिश्मा गुरूङ) लाई पाउन मरिहत्ते गर्ने काजीका रूपमा दर्शकले उनलाई रुचाएका छन्। मैंयाको जति पछि लागे पनि काजी उनको मन जित्न भने असमर्थ भइरहन्छन्।

काजीजस्तै मैंयालाई फकाउने दौडमा विवेक (निश्चल बस्नेत) पनि लागिपरेका छन्। काजी र विवेकबीच हुने हानथाप फिल्मको रमाइलो पक्ष हो।

फिल्मको कथाले मुस्ताङको परिवेशसँगै थकाली परम्परा र स्थानीय राजनीति समेत जोड्दै लान्छ। मुख्यपात्र बाहेक विजय बराल, बुद्धि तामाङजस्ता कलाकारको उपस्थितिले पनि फिल्मलाई रोचक बनाएको छ।

त्रिकोणात्मक प्रेम कथा कबड्डी व्यवसायिक रूपमा सफल फिल्म हो। ‘कबड्डी’ पछि यसका सिक्वेलहरू ‘कबड्डी कबड्डी’ र ‘कबड्डी कबड्डी कबड्डी’ मा पनि दयाहाङले मुख्य भूमिका निर्वाह गरेका छन्।

फन्को (२०१६), निर्देशक: सुवर्ण थापा

संसदीय चुनावको माहोल छ। पोखराको एउटा कम्पनीका धमला साहुजी (केशव भट्टराई) ले नेता तारानाथ शर्मालाई चुनावमा सहयोग स्वरूप एक करोड नगद पठाउन लागेका छन्। उनले यो रकम आफ्नो विश्वास पात्र पाठक (अनुप बराल) र ड्राइभर भक्ति थापा (सौगात मल्ल) मार्फत पठाउने निर्णय गर्छन्। तर धमला साहुले ठूलो रकम जिपमा पोखराबाट काठमाडौं पठाउन लागेको कुरा बुद्ध (दयाहाङ राई) र लिली (प्रियंका कार्की) ले चाल पाउँछन्।

बुद्ध भोजपुरबाट काठमाडौं पढ्न आएदेखि नै राजनीतिमा सक्रिय युवा हुन्। तर वर्षौंको अनुभवले उनलाई इमानदारीपूर्वक राजनीतिमा भविष्य बनाउन नसकिने कुरा सिकाएको छ। लिली दोहोरी रेस्टुरेन्ट चलाएर पनि ऋणमा फसेकी युवती हुन्। पैसाको अभावमा पिरोलिएका यी दुई मिलेर ड्राइभर भक्तिलाई पछ्याउन थाल्छन्।

पैसा लुट्न भक्तिलाई पछ्याउनेमा बुद्ध र लिलीसँगै केही गुण्डाहरू पनि हुन्छन्। ‘फन्को’ फिल्म पूरै यही पैसाको रन्कोमा पछि लाग्ने यिनै पात्रहरूको कथा हो।

अधिकांश घटनाहरू पोखरादेखि काठमाडौं जाने क्रममै हुने यो फिल्म जति अघि बढ्यो, उति रोमाञ्चक बन्दै जान्छ। पैसा बोकर यात्रा गर्दा ड्राइभर भक्तिले कसरी विभिन्न पात्र र समस्याको सामना गर्नुपर्छ? धेरै जनाले हात पार्न चाहेको एक करोड अन्तमा कसले हात पार्छ? यिनै जिज्ञासाले फिल्मलाई अन्तिमसम्म रहस्यमयी बनाइराख्छ।

फिल्ममा ड्राइभर भक्तिको श्रीमतीको भूमिकामा केकी अधिकारीको पनि महत्वपूर्ण भूमिका छ।

पोखराको आञ्चलिकता झल्कने लवज, रोचक संवाद र रहस्यमयी  घटनाक्रमले दर्शकलाई बाँधेर राख्छ। फिल्ममा दयाहाङले भक्भकाएर बोल्ने पात्रको चरित्र निर्वाह गरेका छन्।

विभिन्न समस्यामा पनि शान्तपूर्वक सामना गर्न सक्ने ड्राइभरको भूमिकामा सौगात मल्ल जमेका छन्। द्वन्द्वका हिसाबले धेरै कसिलो बन्न सक्ने ठाउँ बाँकी रहे पनि ‘सुनगाभा’ जस्तो चर्चित फिल्म निर्देशन गरेका सुवर्ण थापाको यो फिल्म फरक स्वाद दिन सफल छ।

पुरानो डुंगा (२०१६), निर्देशक: रामबाबु गुरुङ

डुंगा चलाएर जीवन धान्ने गरिब माझी परिवारको कथा भन्ने ‘पुरानो डुंगा’ मा दयाहाङ राई, माओत्से गुरुङ (भक्तबहादुर) र मेनुका प्रधान (मनमाया) मुख्य भूमिकामा छन्।

सानो टहरोमा बस्ने भक्तबहादुर डुंगा चलाउँछन्। माछा मार्छन्। सानी छोरी हुर्काइरहेकी उनकी श्रीमती मनमायाको स्वास्थ्य कमजोर छ। भक्तबहादुरलाई घरको अवस्था सहज बनाउन भाइको सहाराको खाँचो हुन्छ। तर उनका भाइले परिवारको समस्या कम गर्नेभन्दा बढाउने काम गर्छन्।

दयाहाङले माओत्सेका भाइ तथा बेरोजगार अल्लारे युवक बतासेको भूमिका निर्वाह गरेका छन्। उनी जाँडरक्सीमा झुम्दै, जुवा खेल्दै समय काट्छन्। दोहोरी रेस्टुरेन्टमा काम गर्ने चन्दुको प्रेममा परेका बतासे अर्काको मोटरसाइकल आफ्नो भन्दै चन्दुलाई फकाउन व्यस्त छ। दाजु भाउजूको दुःख पूरै बेवास्ता गर्छन्।

बतासेको गैरजिम्मेवार व्यवहारबाट पहिल्यै आजीत भक्तबहादुर भाइले आफूसँग भएको एउटा मात्रै सम्पत्ति डुंगा, अंशका रूपमा मागेपछि झनै दुःखी बन्छन्। पहिल्यै चिसिएको सम्बन्धमा बतासेको यो मागले दाजुभाइबीच फाटो ल्याउँछ।

उता रेस्टुरेन्टका साहुजी र अर्को नयाँ पात्रको प्रवेशसँगै बतासेले चन्दुसँग बिहे गर्ने सोचमा नयाँ अवरोध आउँछ। यी सबै घटनाले यी पात्रहरूको जीवन कस्तो बन्ला, कता पुग्ला? यसका लागि पूरै फिल्म हेर्नु पर्नेछ।

फिल्ममा शैलेन्द्र डी कार्कीको छायांकन हेर्नलायक छ। फिल्मको कथा निर्देशक रामबाबुले कवि उपेन्द्र सुब्बासँग मिलेर लेखेका हुन्। पुरानो डुंगामा कालीप्रसाद बाँसकोटाको संगीत र स्वरका ‘ओ नीर’ र ‘माझी’ गीत चर्चित छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार